काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी, पहिरो र सडक कटान हुँदा यातायात प्रभावित भएको छ। प्रहरी प्रधान कार्यालयले आज बिहान सार्वजनिक गरेको विवरणअनुसार काभ्रेपलाञ्चोक, इलाम, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, सङ्खुवासभा, लमजुङ, मुस्ताङ, रोल्पा र चितवनका विभिन्न सडकखण्डमा यातायात अवरुद्ध भएको हो।
काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै हरेक दिन साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै सवारीसाधनको आवागमन रोक लगाइएको छ। बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म भने सवारीसाधन सञ्चालन हुनेछन्।
मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण अपराह्न ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधनको आवागमन रोकिएको छ।
इलाम नगरपालिका–९ राजदुवालीमा हिलोका कारण मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त स्थानमा वैकल्पिक सडक रहेको प्रहरीले जनाएको छ।
सिन्धुपाल्चोकको अरनिको राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका–४ चारकिलो पहिरो लिपिङमा सडक भासिएपछि सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। त्यस्तै, रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा सडक कटान हुँदा त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडक अवरुद्ध भएको छ।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोला नजिक पहिरो खसेपछि भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
सङ्खुवासभाको भोटखोला गाउँपालिका–३ सिरेक डाँडामा सडक भासिएपछि कोशी राजमार्गको खाँदबारी–किमाथाङ्का सडकखण्डमा यातायात पूर्ण रूपमा रोकिएको छ।
लमजुङको मर्स्याङ्दी गाउँपालिका–४ रामबजारमा पहिरो खसेपछि बेँसीसहर–मनाङ सडक अवरुद्ध भएको छ। मुस्ताङको थासाङ गाउँपालिका–४ कैकुखोलामा पहिरोका कारण बेनी–जोमसोम सडक पनि अवरुद्ध भएको प्रहरीले जनाएको छ।
यसैगरी, रोल्पाको सुनिलस्मृति गाउँपालिका–४ कागडाँडामा पहिरो खसेपछि भालुवाङ–लिवाङ सडक अवरुद्ध भएको छ। चितवनको इच्छाकामना गाउँपालिका–५ सिमलधारामा रूखसहितको सुक्खा पहिरो खसेपछि पृथ्वीराजमार्ग समेत पूर्ण रूपमा अवरुद्ध भएको छ।
निरन्तर वर्षाका कारण पहिरो खस्ने, बाढीले सडक कटान गर्ने तथा सडक भासिने क्रम जारी रहेकाले प्रहरीले यात्रा गर्नुअघि सम्बन्धित सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ। साथै, सम्भावित जोखिमलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन पनि प्रहरीले सबैलाई अनुरोध गरेको छ।




