काठमाडौं । खाना पकाउने एलपी ग्यासको अभाव झेलिरहेका उपभोक्तालाई राहत दिन नेपाल आयल निगमले आज काठमाडौंका विभिन्न सात स्थानबाट ग्यास सिलिन्डर बिक्री–वितरण गर्ने भएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौं र ग्यास उद्योगीहरूसँगको समन्वयमा बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म विभिन्न ब्रान्डका ग्यास बिक्री गरिने निगमले जनाएको छ।
नियमित बिक्रेताबाट ग्यास प्राप्त गर्न नसकेका अत्यावश्यक उपभोक्ताले नागरिकता वा राष्ट्रिय परिचयपत्रसहित तोकिएको बिक्री केन्द्रमा उपस्थित भएर ग्यास खरिद गर्न सक्नेछन्।
ग्यास वितरण हुने स्थान र उपलब्ध ब्रान्डहरू :
- निगमको टेकु परिसर: नेपाल, एचपी, एभरेस्ट सुगम, श्रीराम र सगर
- पशु सेवा शाखा, चपली, बुढानीलकण्ठ: नेपाल, एचपी र भानु
- राधास्वामी, कीर्तिपुर परिसर: नेपाल, एचपी, एभरेस्ट सुगम, श्रीकृष्ण, साइबाबा र श्रीमाया
- नयाँ बजार जुडो हल परिसर: नेपाल, एचपी र ओम
- तारकेश्वर नगरपालिका परिसर: नेपाल र एचपी
- चन्द्रागिरि नगरपालिका कार्यालय: लोकप्रिय, नेपाल, एचपी र श्रीमाया
- राष्ट्रिय क्षयरोग केन्द्र, ठिमी: नेपाल, एचपी, सूर्य, सगर, एभरेस्ट सुगम र एसटीसी
निगमले एलपी ग्यासको आयात नियमित रूपमा भइरहेको र नियमित बिक्रेतामार्फत पनि वितरण जारी रहेको जनाएको छ। समस्यामा परेका तथा अत्यावश्यक उपभोक्तालाई मात्र तोकिएका बिक्री केन्द्रमा आउन निगमले आग्रह गरेको छ।
यसअघि शनिबार निगमले काठमाडौंका पाँच स्थानबाट ६ हजार ८०२ थान ग्यास सिलिन्डर बिक्री गरेको थियो।
तस्बिर:हरिराम भेटुवाल/रासस



