दाङ- दाङको घोराही उपमहानगरपालिका–१५ रतनपुरस्थित गुरुकुल एकेडेमीमा श्रावण महिनाको पावन अवसरमा विशेष रुद्राभिषेक तथा शिवपूजा कार्यक्रम सम्पन्न भएको छ। विद्यार्थीमा नैतिक शिक्षा, संस्कार, आध्यात्मिक चेतना तथा सनातन धर्मप्रतिको आस्था अभिवृद्धि गर्ने उद्देश्यले विद्यालयले कार्यक्रम आयोजना गरेको हो। विद्यालय परिसरमा वैदिक विधिअनुसार सम्पन्न रुद्राभिषेकमा विद्यार्थी, शिक्षक, अभिभावक तथा विद्यालय परिवारको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रममा भगवान् शिवको विशेष पूजा–आराधना, वैदिक मन्त्र उच्चारण तथा रुद्रपाठ गरिएको थियो। सहभागीहरूले विश्व शान्ति, राष्ट्रको समृद्धि, विद्यालय परिवारको प्रगति तथा सम्पूर्ण विद्यार्थीको उज्ज्वल भविष्यको कामना गर्दै सामूहिक रूपमा पूजा–आराधना गरेका थिए।
विद्यालयका प्रधानाध्यापक प्रदीप राजभण्डारीले आधुनिक शिक्षासँगै नैतिक मूल्य, अनुशासन, संस्कार र आध्यात्मिक चेतनाको विकास गराउनु पनि विद्यालयको महत्वपूर्ण दायित्व भएको बताउनुभयो। विद्यार्थीलाई आफ्नो धर्म, संस्कृति, परम्परा र सभ्यतासँग जोड्ने उद्देश्यले यस्ता धार्मिक तथा सांस्कृतिक कार्यक्रमलाई निरन्तरता दिइँदै आएको उहाँको भनाइ छ। विद्यालयका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीमा अनुशासन, सकारात्मक सोच, नैतिक मूल्य–मान्यता, सामाजिक उत्तरदायित्व तथा धार्मिक सहिष्णुताको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ। साथै, पुस्तान्तरणसँगै ओझेलमा पर्न थालेका धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षण र प्रवर्द्धनमा पनि विद्यालयले विशेष ध्यान दिँदै आएको जनाएको छ।
कार्यक्रममा सहभागी अभिभावकहरूले विद्यालयले किताबी ज्ञानसँगै संस्कार, संस्कृति र नैतिक शिक्षालाई समान प्राथमिकता दिएकोमा खुसी व्यक्त गरेका थिए। उनीहरूले यस्ता गतिविधिले विद्यार्थीको सर्वाङ्गीण व्यक्तित्व विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे। गुरुकुल एकेडेमीले आगामी दिनमा पनि धार्मिक, सांस्कृतिक, सामाजिक तथा सिर्जनात्मक गतिविधिमार्फत विद्यार्थीलाई व्यवहारिक, अनुशासित, संस्कारित र जिम्मेवार नागरिकका रूपमा विकास गर्ने उद्देश्यका साथ यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।



