काठमाडौं – नेपाली कांग्रेसको आधिकारिकता विवादसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले पुनरवलोकन गर्न अनुमति दिएको छ । प्रधानन्यायाधीश मनोजकुमार शर्मा तथा न्यायाधीशद्वय नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको इजलासले कांग्रेसको विशेष महाधिवेशन पक्षधरलाई आधिकारिक मानेको अघिल्लो आदेश पुनरवलोकन गर्न माग गरिएको निवेदनमाथि सुनुवाइ गर्दै पुनरवलोकनका लागि अनुमति दिएको हो।
अब उक्त विवादको निरूपणका लागि तीन सदस्यीय इजलासमा पुनः सुनुवाइ हुनेछ। यसअघि न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले विशेष महाधिवेशन पक्षलाई आधिकारिकता दिने फैसला गरेको थियो।
विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएको निर्णयविरुद्ध तत्कालीन कांग्रेस सभापति शेरबहादुर देउवा र नेता पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा पुनरवलोकनको निवेदन दिएका थिए। अब सर्वोच्च अदालतले अघिल्लो फैसला कानुनसम्मत थियो वा थिएन भन्ने विषयमा पुनः सुनुवाइ गरी अन्तिम निर्णय गर्नेछ।
यसैबीच, हाल विदेशमा रहेका कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा यही हप्ता स्वदेश फर्कने तयारीमा रहेको स्रोतले जनाएको छ।



