अविरल वर्षाले देशभर सडक सञ्जाल अस्तव्यस्त, दर्जनौँ राजमार्ग अवरुद्ध

File Photo

काठमाडौं । केही दिनदेखि जारी अविरल वर्षाका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकखण्ड बाढी र पहिरोको चपेटामा परेका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार धेरै स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केही सडक एकतर्फी मात्र सञ्चालनमा रहेका छन्। चितवनको इच्छाकामना गाउँपालिका-५ मा आज बिहान ५:३५ बजे पहिरो खसेपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। यस्तै सिन्धुपाल्चोकको भोटेकोशी क्षेत्रअन्तर्गत चारकिलो, कोदारी र लिपिङमा पहिरो खस्दा अरनिको राजमार्गमा सवारी आवागमन ठप्प भएको छ। ललितपुरको बागमती गाउँपालिका-३ पाण्डुर र मकवानपुरको ठिंगन क्षेत्रमा पहिरोका कारण कान्ति लोकपथ पनि अवरुद्ध छ। मकवानपुरतर्फको खण्डमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ।

इलामको राजदुवाली क्षेत्रमा अविरल वर्षाका कारण मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गको खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी खण्डमा बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ। पूर्वी रुकुमको भुमे गाउँपालिकामा पहिरोका कारण मध्य पहाडी लोकमार्ग अवरुद्ध भएको छ भने बागलुङको बेलबगर र पाल्पाको निस्दी क्षेत्रमा बाढी तथा पहिरोले कालीगण्डकी करिडोरसमेत बन्द भएको छ।

कर्णाली क्षेत्रका विभिन्न सडकमा पनि वर्षाले ठूलो असर पुर्‍याएको छ। रुकुम पश्चिमको भेरी करिडोर, मुगुको नाग्म-गमगढी सडक तथा जुम्लाको नाग्म सडकखण्डमा बाढी र पहिरोका कारण सवारी सञ्चालन हुन सकेको छैन। रसुवाको त्रिशुली-मैलुङ-स्याफ्रुबेँसी सडक र दोलखाको लामासाँघु-रामेछाप सडकखण्ड पनि बाढी तथा पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन्। दोलखामा वैकल्पिक बाटो सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

यता काठमाडौंको सितापाइला-धार्के सडकखण्डअन्तर्गत नागार्जुन-८ ठुलो खोलामा खसेको पहिरो पन्छाएपछि एकतर्फी सवारी सञ्चालन गरिएको छ। मनाङको चामे–बेँसिशहर र मुस्ताङको बेनी-जोमसोम सडकखण्डका केही स्थानमा पनि पहिरोका कारण एकतर्फी मात्र सवारी चलिरहेका छन्। भोजपुरको बोखिम क्षेत्रमा मध्य पहाडी लोकमार्ग पनि एकतर्फी रूपमा सञ्चालनमा रहेको छ। लगातार वर्षा भइरहेकाले सडकको अवस्था जुनसुकै बेला परिवर्तन हुन सक्ने भन्दै प्रहरीले यात्रामा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। विशेषगरी लामो दूरीको यात्रा तय गर्नुअघि सम्बन्धित सडकको पछिल्लो अवस्था बुझ्न, नजिकको प्रहरी कार्यालयसँग सम्पर्क गर्न वा नेपाल प्रहरीको आधिकारिक सूचना हेरेर मात्रै यात्रा गर्न सर्वसाधारणलाई अनुरोध गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्