काठमाडौं – देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई नजिक रहेकाले हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। अहिले कोशी, बागमती र गण्डकी प्रदेशका धेरै स्थान तथा लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र मधेस प्रदेशका केही स्थानमा चट्याङसहित वर्षा भइरहेको छ। आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभाग, साथै मधेस प्रदेशका धेरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
महाशाखाले बागमती, गण्डकी, कोशी, मधेस तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने चेतावनी दिएको छ। आज राति पनि देशभर बदली रहने र हिमाली तथा पहाडी भूभागका केही स्थान तथा तराईका थोरै स्थानमा वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।



