तीन सातादेखि लाइसेन्स वितरण र नवीकरण सेवा ठप्प, सेवाग्राही सास्तीमा

जनकपुरधाम – मधेस प्रदेशअन्तर्गतको यातायात व्यवस्था कार्यालय, जनकपुरमा नयाँ सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण र नवीकरण सेवा तीन सातादेखि ठप्प हुँदा सेवाग्राही मारमा परेका छन्।

कार्यालयका अनुसार यातायात व्यवस्था विभागको सर्भरमा समस्या आएपछि असार २९ गतेदेखि नयाँ लाइसेन्स वितरण रोकिएको हो। हाल कार्यालयले सवारी कर संकलनबाहेक अन्य लाइसेन्ससम्बन्धी सेवा प्रभावकारी रूपमा सञ्चालन गर्न सकेको छैन। कार्यालय प्रमुख वासुदेव मल्लका अनुसार प्रदेशको नयाँ सफ्टवेयर जडान र विभागको सर्भर मर्मतको काम भइरहेकाले सेवा प्रभावित भएको हो। समस्या समाधानका लागि पहल भइरहेको भए पनि प्राविधिक कारणले ढिलाइ भएको उहाँले बताउनुभयो।

लाइसेन्स वितरण र नवीकरण रोकिएपछि दैनिक सयौँ सेवाग्राही कार्यालय पुगेर निराश भएर फर्किन बाध्य भएका छन्। लिखित र ट्रायल परीक्षा उत्तीर्ण गरेका युवादेखि म्याद सकिन लागेका लाइसेन्स नवीकरण गर्न आएका सेवाग्राहीसम्म समस्यामा परेका छन्। मधेस प्रदेशको श्रम तथा यातायात मन्त्रालयका निमित्त सचिव रञ्जितकुमार यादवले पुरानो प्रणाली हटाएर नयाँ डिजिटल प्रणाली निर्माण भइरहेको जानकारी दिँदै साउन महिनाभित्र समस्या समाधान हुने दाबी गर्नुभयो। नयाँ प्रणाली लागू भएपछि लाइसेन्स नवीकरण लगायतका धेरै सेवा अनलाइनमार्फत सहज रूपमा उपलब्ध हुने उहाँको भनाइ छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्