काठमाडौं – नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा याङकी उक्यावलाई नियुक्त गर्ने निर्णय गरेको छ। बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले उक्त निर्णय गरेको हो। सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बैठकले विभिन्न नीतिगत तथा प्रशासनिक गरी सात महत्वपूर्ण निर्णय गरेको जानकारी दिए।
बैठकले तथ्याङ्क (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत गर्नुका साथै बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ संघीय संसद्मा पेश गर्न स्वीकृति प्रदान गरेको छ। यस्तै, विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्रा. डा. खड्गबहादुर केसी र सचिवमा प्रा. डा. रोजी श्रेष्ठलाई नियुक्त गर्ने निर्णय पनि गरिएको छ।
सरकारले नेपाल इन्टरमोडल यातायात विकास समिति खारेज गरी त्यसलाई नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडसँग गाभ्न स्वीकृति दिएको छ। साथै पशु वधशाला र मासु जाँच ऐन, २०५५ लाई चरणबद्ध रूपमा देशभर लागू गर्ने निर्णयसमेत भएको छ। बैठकले सुनसरी र सिराहामा हालै भएका प्रदर्शनका क्रममा मृत्यु भएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउने तथा घाइतेहरूको उपचारको उचित व्यवस्था मिलाउने निर्णय पनि गरेको छ।



