सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका-२ नवलपुरस्थित मध्यपहाडी राजमार्गमा बसको ठक्करपछि सुनकोसी नदीमा खसेको कार र त्यसमा सवार तीन यात्रुको अवस्था अझै अज्ञात रहेको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार नदीमा पानीको उच्च बहाव र तीव्र करेन्टका कारण खोजी कार्य चुनौतीपूर्ण बनेको छ। मंगलबारदेखि ड्रोन, म्याग्नेट तथा गोताखोर टोली परिचालन गरिए पनि कार र बेपत्ताहरूको अवस्था पत्ता लाग्न सकेको छैन।
गत सोमबार काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको बा.प्र. ०८-००१ ख ०१४४ नम्बरको बसले सडक किनारमा रोकिएको प्रदेश ३-०१-०२४ च ९५७३ नम्बरको कारलाई ठक्कर दिँदा कार करिब ५० फिट तल सुनकोसी नदीमा खसेको थियो। दुर्घटनामा सिन्धुपाल्चोक जुगल गाउँपालिका-७ का ३९ वर्षीय दिलकुमार लामा, सिन्धुली गोलन्जोर गाउँपालिका-१ का २८ वर्षीय गणेश थापा र तीनपाटन गाउँपालिका-९ का १७ वर्षीय सुजन बलम्पाकी मगर बेपत्ता छन्।
प्रहरी उपरीक्षक रविन्द्रबहादुर सिंहका अनुसार सशस्त्र प्रहरीको गोताखोर टोली, नेपाल प्रहरी र स्थानीयवासीको सहयोगमा खोजी कार्य निरन्तर जारी छ। प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले दुई वटा डुङ्गासहित १५ सदस्यीय गोताखोर टोलीले नवलपुरदेखि घुर्मीसम्मका सम्भावित क्षेत्रमा खोजी गरिरहेको जानकारी दिनुभयो।
घटनामा संलग्न बसका चालक हेमबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। उता, पीडित परिवार र स्थानीयवासीले उचित क्षतिपूर्ति र जिम्मेवार पक्षसँग वार्ताको माग गर्दै खुर्कोट-घुर्मी सडकखण्ड लगातार तीन दिनदेखि अवरुद्ध गरेका छन्। प्रशासनले बसधनी र यातायात व्यवसायीसँग छलफल गरी सडक सञ्चालन गराउने प्रयास भइरहेको जनाएको छ।



