हवाई इन्धन महँगिएसँगै आन्तरिक हवाई भाडा बढ्यो

काठमाडौं- नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर २० रुपैयाँ बढाएपछि आन्तरिक हवाई उडानको भाडा पनि बढेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्युल सरचार्ज संशोधन गर्दै मङ्गलबारदेखि नयाँ भाडादर लागू गरेसँगै जहाज तथा हेलिकोप्टर दुवैको भाडा महँगिएको हो। नयाँ व्यवस्थाअनुसार यात्रुले हवाई टिकट खरिद गर्दा भाडासँगै इन्धन शुल्क पनि तिर्नुपर्ने हुन्छ। आयल निगमले इन्धनको मूल्य समायोजन गरेसँगै सोहीअनुसार फ्युल सरचार्ज बढ्ने वा घट्ने व्यवस्था रहेको छ।

संशोधित भाडादरअनुसार सबैभन्दा धेरै काठमाडौं-धनगढी रुटमा ८८० रुपैयाँले भाडा बढेको छ। त्यसपछि काठमाडौं-पर्वतीय उडानमा ६८५ रुपैयाँ, काठमाडौं-नेपालगञ्जमा ६५५ रुपैयाँ, काठमाडौं-भद्रपुरमा ६०५ रुपैयाँ, काठमाडौं-विराटनगरमा ४८० रुपैयाँ, काठमाडौं-भैरहवामा ४१० रुपैयाँ, काठमाडौं-पोखरामा ३१५ रुपैयाँ, काठमाडौं-जनकपुरमा २६० रुपैयाँ र काठमाडौं-सिमरामा १८० रुपैयाँले टिकट महँगिएको छ।

त्यस्तै काठमाडौं-तुम्लिङटारमा ३७० रुपैयाँ, काठमाडौं-सुर्खेतमा ६९० रुपैयाँ, काठमाडौं-राजविराजमा ४१० रुपैयाँ, पोखरा-भद्रपुरमा ८१० रुपैयाँ, पोखरा-धनगढीमा ६८५ रुपैयाँ र पोखरा-जनकपुरमा ५२५ रुपैयाँले भाडा वृद्धि भएको छ। हेलिकोप्टर चार्टर तथा उद्धार उडानको भाडादर पनि बढाइएको छ। नयाँ दरअनुसार काठमाडौं, ललितपुर र भक्तपुरभित्र उद्धार उडानको ब्लक-टाइम शुल्क १३ प्रतिशत भ्याटसहित १ लाख २८ हजार रुपैयाँ कायम गरिएको छ।

यसैगरी काठमाडौंबाट पोखराको हेलिकोप्टर चार्टर भाडा ३ लाख ८२ हजार रुपैयाँ, विराटनगर ५ लाख ७३ हजार रुपैयाँ, भैरहवा ५ लाख ९ हजार रुपैयाँ, सुर्खेत १० लाख १७ हजार रुपैयाँ र धनगढी १३ लाख ९९ हजार रुपैयाँ पुगेको छ। दुर्गम क्षेत्रतर्फ हुम्लाको चार्टर भाडा १३ लाख ९९ हजार रुपैयाँ तथा दार्चुलाको १६ लाख ५३ हजार रुपैयाँ कायम गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्