काठमाडौं – सशस्त्र प्रहरी बल (एपीएफ) इन्टेलिजेन्स ब्युरोले काठमाडौंबाट ठूलो परिमाणमा लागूऔषध बरामद गर्दै लागूऔषध मुद्दाका फरार अभियुक्तसहित चार जनालाई पक्राउ गरेको छ।
डीआईजी दीपेन्द्र शाहको नेतृत्वमा परिचालित एपीएफ इन्टेलिजेन्स ब्युरोको टोलीले विशेष सूचनाका आधारमा काठमाडौं महानगरपालिका-१, नागपोखरी क्षेत्रमा शुक्रबार दिउँसो करिब १२:३० बजे छापा मारेर २८९.३५ ग्राम खैरो हेरोइन (ब्राउन सुगर) बरामद गरेको हो। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१ नागपोखरी बस्ने प्रभात तिवारी (४३), सर्लाही मलंगवा नगरपालिका-८ का सुजन रायमाझी, काठमाडौं महानगरपालिका-१४ बल्खु बस्ने भुपेन्द्र श्रेष्ठ तथा ललितपुर बागडोल-४ का सविन श्रेष्ठ (५१) रहेका छन्। प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेकामध्ये एक जना लागूऔषध मुद्दाका फरार अभियुक्त रहेको खुलेको एपीएफ स्रोतले जनाएको छ।
कारबाहीका क्रममा टोलीले लागूऔषधसँगै विभिन्न सामग्री पनि बरामद गरेको छ। बरामद सामग्रीमा २८९.३५ ग्राम खैरो हेरोइन, बा ७ च ५१८० नम्बरको होन्डा कार, ट्रामाडोल २२० क्याप्सुल, नाइट्रोभेट १३० क्याप्सुल, चार थान एन्ड्रोइड मोबाइल, तीन थान ल्यापटप, एक थान प्रिन्टर, ब्राउन सुगर तौल्ने डिजिटल तराजु, दुई थान सञ्चार सेट तथा नगद १ लाख ९८ हजार ३७५ रुपैयाँ रहेका छन्।
यस्तै, ३३ अमेरिकी डलर, २० भारतीय रुपैयाँ र १,००० जापानी येन समेत बरामद भएको छ। पक्राउ परेका चारै जनालाई बरामद लागूऔषध तथा अन्य सामग्रीसहित थप अनुसन्धान र कानुनी कारबाहीका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर १८ बाघभैरव गण मार्फत सम्बन्धित निकायमा बुझाइएको जनाइएको छ। एपीएफ इन्टेलिजेन्स ब्युरोले लागूऔषध ओसारपसार तथा अवैध कारोबार नियन्त्रणका लागि देशभर विशेष निगरानी र सूचनामूलक अपरेशनलाई तीव्र बनाउँदै आएको जनाएको छ।



