सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री अनुपस्थित, सुनसरी घटनाबारे साझा धारणा बनाउन छलफल

काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न परिस्थितिबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आह्वानमा बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र गृहमन्त्री सुधन गुरुङ सहभागी भएका छैनन्।

सामाजिक सद्भाव, शान्ति–सुरक्षा तथा सुनसरी घटनापछि विकसित पछिल्लो अवस्थाबारे साझा धारणा बनाउन रास्वपाका सभापति रवि लामिछानेले सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा सर्वदलीय बैठक बोलाएका हुन्।

तर, सरकारको नेतृत्वकर्ता दलका प्रमुख तथा शान्ति–सुरक्षाको प्रत्यक्ष जिम्मेवारी सम्हाल्ने गृहमन्त्री नै बैठकमा अनुपस्थित भएपछि त्यसप्रति चासो व्यक्त गरिएको छ। सुनसरी घटनापछि सरकारको आलोचना भइरहेको छ भने तराई–मधेशका विभिन्न स्थानमा प्रदर्शनसमेत जारी छ।

बैठकमा नेपाली कांग्रेसका सभापति गगन थापा, संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले महासचिव शंकर पोखरेल, श्रम संस्कृति पार्टीका आर्यन राई, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, सांसद खुस्बु ओली, जनमत पार्टीका अध्यक्ष सीके राउतलगायत विभिन्न राजनीतिक दलका नेताहरू सहभागी छन्।

रास्वपाका महामन्त्री विपिन आचार्यले सुनसरीको संवेदनशील घटनापछि सामाजिक रूपमा फैलिन सक्ने द्वेष न्यूनीकरण गर्दै शान्ति, सद्भाव र सामाजिक एकताको सन्देश दिन राजनीतिक दलहरूबीच साझा छलफल आवश्यक ठानिएकाले बैठक आयोजना गरिएको बताए।

उनले प्रशासनिक प्रयाससँगै राजनीतिक नेतृत्वबाट पनि संयम, संवाद र सद्भावको सन्देश जान आवश्यक रहेको उल्लेख गर्दै सर्वदलीय बैठकको उद्देश्य यही रहेको स्पष्ट पारे।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्