काठमाडौं – सशस्त्र प्रहरी बल (एपीएफ) इन्टेलिजेन्स ब्युरोले काठमाडौं उपत्यकामा सक्रिय लागूऔषध तस्करीको सञ्जालमाथि कारबाही गर्दै ठूलो परिमाणमा ट्रामाडोलसहित तीन जनालाई पक्राउ गरेको छ। डीआईजी दीपेन्द्र शाहको नेतृत्वमा सक्रिय एपीएफ इन्टेलिजेन्स ब्युरोले भारतबाट नेपालका विभिन्न सीमावर्ती क्षेत्र हुँदै काठमाडौं भित्र्याइएको ट्रामाडोलको कारोबार भइरहेको विशेष सूचनाका आधारमा काठमाडौं महानगरपालिका–१४, गाङखेल क्षेत्रमा छापा मारेको थियो।
मिति २०८३ साउन १२ गते साँझ ७:२० बजे गरिएको कारबाहीका क्रममा प्रहरीले ट्रामाडोलका १२ हजार फाइल (१ लाख २० हजार क्याप्सुल) सहित तीन जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा भारतको बिहार राज्य मोतिहारी निवासी २६ वर्षीय राकेश कुमार शाह, बारा जिल्ला कलैया–५ निवासी २१ वर्षीय नौसाद अन्सारी तथा ओखलढुंगा मानेभञ्ज्याङ–५ स्थायी घर भई हाल ललितपुर महानगरपालिका–६ मा बस्दै आएका २४ वर्षीय दीपक राई रहेका छन्।
पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि एपीएफ रेजिमेन्ट बेस बलम्बुमा बुझाइएको प्रहरीले जनाएको छ। कारबाहीका क्रममा प्रहरीले ट्रामाडोलका १२ हजार फाइल (१ लाख २० हजार क्याप्सुल), बा.च. ७०१७ नम्बरको टाटा कम्पनीको गाडी, बागमती प्रदेश १–०२०६५ प ४४८९ नम्बरको मोटरसाइकल, तीन थान एन्ड्रोइड मोबाइल, रु. १ हजार ७४५ नगद, एक थान सवारी चालक अनुमतिपत्र (लाइसेन्स) र गाडीको एक थान बिलबुक समेत बरामद गरेको जनाएको छ।
प्रहरीका अनुसार भारतबाट अवैध रूपमा लागूऔषध भित्र्याएर काठमाडौंमा बिक्री–वितरण गर्ने गिरोहविरुद्ध थप अनुसन्धान जारी रहेको छ।



