काठमाडौं । नेपाल चिकित्सक सङ्घले वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र अस्पतालमा भएको तोडफोडको विरोधमा बुधबार देशभर आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरेको छ। मंगलबार सङ्घको केन्द्रीय कार्यालयमा बसेको आकस्मिक बैठकले देशभरका अस्पताल, मेडिकल कलेज तथा स्वास्थ्य संस्थामा आकस्मिक सेवाबाहेक सबै सेवा बन्द गर्ने निर्णय गरेको हो। घटनाको चार दिन बितिसक्दा पनि दोषीलाई पक्राउ गरी कानुनी कारबाही नगरेको तथा न्याय माग्न गएका चिकित्सकमाथि पर्साका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखबाट दुर्व्यवहार भएको भन्दै सङ्घले सरकारप्रति असन्तुष्टि जनाएको छ।
सङ्घले दोषीलाई कानुनको दायरामा ल्याउन सरकार उदासीन बनेको आरोप लगाउँदै चिकित्सक र स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित नभएसम्म आन्दोलनका कार्यक्रम जारी रहने चेतावनी दिएको छ। घोषित कार्यक्रमअनुसार बुधबार बिहान १० बजे काठमाडौं उपत्यकाभित्रका चिकित्सक तथा स्वास्थ्यकर्मी माइतीघर मण्डलामा भेला भएर विरोध प्रदर्शन गर्नेछन्। उपत्यका बाहिरका चिकित्सकहरूले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने तथा आफू कार्यरत स्वास्थ्य संस्थामा धर्ना दिएर विरोध जनाउने कार्यक्रम तय गरिएको छ।
नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा. बद्री रिजाल र महासचिव डा. विश्वराज दवाडीद्वारा जारी विज्ञप्तिमा विभिन्न विशेषज्ञ समाज, निजी स्वास्थ्य संस्था तथा अन्य सरोकारवाला निकायलाई आन्दोलनमा ऐक्यबद्धता जनाउन आह्वान गरिएको छ। यसअघि मंगलबार पनि सङ्घले देशभर ओपीडी सेवा बन्द गरेर विरोध जनाएको थियो।



