काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न सबै पक्षसँग अपिल गरेको छ। मंगलबार जारी विज्ञप्तिमार्फत सरकारले कुनै पनि विवादको समाधान हिंसा र मुठभेडबाट सम्भव नहुने स्पष्ट गर्दै संयमता अपनाउन आग्रह गरेको हो।
प्रधानमन्त्री कार्यालयले नेपाली समाज सदियौँदेखि धार्मिक सहिष्णुता, आपसी एकता र सामाजिक सद्भावको उदाहरणका रूपमा रहेको उल्लेख गर्दै धार्मिक तथा साम्प्रदायिक सद्भावमा खलल पुग्ने कुनै पनि गतिविधिमा संलग्न नहुन, उत्तेजना फैलाउने वा भ्रामक सूचना प्रसार नगर्न तथा त्यस्ता सूचनाको प्रभावमा नपर्न सबैमा अनुरोध गरेको छ।
सरकारले मुलुकमा शान्ति, सुव्यवस्था तथा सामाजिक–धार्मिक सद्भाव कायम राख्न राजनीतिक दल, नागरिक समाज, धार्मिक संघसंस्था, सञ्चारमाध्यम र सम्पूर्ण नागरिकलाई जिम्मेवार भूमिका निर्वाह गर्न आह्वान गरेको छ। सहसचिव तथा प्रवक्ता हेमराज अर्यालद्वारा जारी विज्ञप्तिमा वर्तमान परिस्थितिमा सबै पक्षले संयम र जिम्मेवारी प्रदर्शन गर्नुपर्ने उल्लेख गरिएको छ।
विज्ञप्तिमा देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय समितिले काम सुरु गरिसकेको जानकारी दिइएको छ। सात दिनभित्र प्रतिवेदन पेश गर्ने कार्यादेश पाएको समितिले घटनाको वास्तविक कारण, जिम्मेवार पक्ष र भविष्यमा यस्ता घटना दोहोरिन नदिन अपनाउनुपर्ने उपायसहित सरकारलाई सुझाव दिनेछ।
सरकारले घटनामा ज्यान गुमाएका व्यक्तिप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइते नागरिक तथा सुरक्षाकर्मीको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। साथै, घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था मिलाइएको, पीडित पक्षलाई उचित क्षतिपूर्ति उपलब्ध गराइने तथा घटनामा संलग्न दोषीमाथि कडा कानुनी कारबाही गरिने प्रतिबद्धता पनि व्यक्त गरेको छ।




