लगातार तेस्रो हारसँगै नेपाल दबाबमा, नामिबियासँग ३ रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्समा जारी शृङ्खलामा नेपालले लगातार तेस्रो हार बेहोरेको छ। सोमबार राति भएको रोमाञ्चक खेलमा नेपाल नामिबियासँग ३ रनले पराजित भएको हो। २१२ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २०८ रन मात्र बनाउन सक्यो। नेपालका लागि आसिफ शेखले ४५ रन, कप्तान रोहित पौडेलले ४१, आरिफ शेखले ३८, कुशल भुर्तेलले ३४ तथा गुल्शन झाले अविजित १९ रन बनाए। अन्तिम ओभरसम्म पुगेको खेलमा नेपाल लक्ष्य भेट्न ३ रनले चुकेको थियो।

नामिबियाका लागि ज्याक ब्रासेलले ३ विकेट लिए भने रुबेन ट्रम्पलमनले २ विकेट हात पारे। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले ५० ओभरमा ७ विकेट गुमाउँदै २११ रन बनाएको थियो। जान फ्रायलिंकले १४९ बलमा शतक पूरा गर्दै टोलीलाई सम्मानजनक योगफलसम्म पुर्‍याए भने लाउरेन स्टिनकाम्पले ५९ रनको योगदान दिए। नेपालका लागि करण केसीले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिए। यससँगै उनी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा नेपालका लागि १०० विकेट पूरा गर्ने दोस्रो खेलाडी बन्न सफल भएका छन्।

यसअघि नेपाल आयोजक नेदरल्यान्ड्ससँग ६ विकेट तथा नामिबियासँग ८ विकेटले पराजित भएको थियो। लगातार तेस्रो हारसँगै नेपालका लागि लिग–२ को शीर्ष चारमा रहँदै विश्वकप ग्लोबल क्वालिफायरमा स्थान बनाउने सम्भावना थप कठिन बनेको छ। नेपालले अब शृङ्खलाको अन्तिम खेल मंगलबार आयोजक नेदरल्यान्ड्ससँग खेल्नेछ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्