काठमाडौं – प्रमुख विपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुनसरीको देवानगञ्ज नगरपालिका-३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन्। शान्तिसुरक्षा कायम गर्न नसक्नु गृह मन्त्रालयको कमजोरी भएको उल्लेख गर्दै उनले गृहमन्त्रीले संसद् र जनतासामु घटनाबारे स्पष्ट जवाफ दिनुपर्ने बताएका हुन्।
सोमबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै आङ्देम्बेले घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन्। साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै घटनाको निष्पक्ष, स्वतन्त्र र पारदर्शी छानबिन गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्न सरकारसँग माग गरेका छन्।
उनले सरकार आफ्नो संवैधानिक दायित्व पूरा गर्न असफल भएको आरोप लगाउँदै पछिल्लो समय नागरिकमा सरकारप्रति असन्तोष तीव्र रूपमा बढ्दै गएको उल्लेख गरेका छन्। आत्मदाहजस्ता दुःखद घटनाहरू बारम्बार दोहोरिनु पनि यही असन्तोषको परिणाम भएको उनको भनाइ छ।
आङ्देम्बेले हिंसा, आगजनी, तोडफोड र प्रतिशोधबाट कुनै पनि समस्याको समाधान ननिस्कने भन्दै सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेका छन्। सुरक्षाकर्मीले कानुनको पालना गर्दै अधिकतम संयमता अपनाएर शान्ति र सुरक्षाको वातावरण कायम गर्नुपर्ने तथा अफवाह र उक्साहटमा नलागी संवाद, सहिष्णुता र कानुनी प्रक्रियामार्फत समस्या समाधानतर्फ अघि बढ्न सबैमा अपिल गरेका छन्।



