काठमाडौं । सुनसरीको देवानगञ्ज क्षेत्रमा लागू गरिएको अनिश्चितकालीन कर्फ्यु हटाइएको छ। जिल्ला प्रशासन कार्यालय, सुनसरीका अनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम जारी गरिएको कर्फ्यु आदेश सोमबार राति सवा १२ बजेदेखि हटाइएको हो। यद्यपि, निषेधाज्ञा भने यथावत् रहेको प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले जानकारी दिएका छन्।
यसअघि इनरुवा नगरपालिका–३ र ६ को पूर्वी सीमा (महेन्द्र राजमार्ग अन्तर्गतको घोपाली टोल) देखि पश्चिममा कोशी ब्यारेज पुल तथा उत्तर–दक्षिणतर्फ राजमार्गको २०० मिटर क्षेत्रभित्र कर्फ्यु लागू गरिएको थियो। निषेधाज्ञाका कारण ठूलो संख्यामा भेला, जुलुस, सभा तथा प्रदर्शन गर्न भने अझै रोक लगाइएको छ। उता, देवानगञ्ज घटनाको छानबिन गर्न गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय पाँच सदस्यीय समिति विराटनगर पुगेको छ। नेपाल सरकारका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा गठित समितिले घटनाको अनुसन्धान औपचारिक रूपमा सुरु गरेको हो।
समितिले न्युरो अस्पतालमा उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै घाइते र प्रत्यक्षदर्शीसँग बयान लिँदै आवश्यक प्रमाण सङ्कलन थालेको छ। घटनास्थल निरीक्षण, सुरक्षा निकायबाट प्राप्त विवरण र उपलब्ध प्रमाणका आधारमा घटनाको वास्तविकता पत्ता लगाई दोषी देखिएकामाथि कानुनी कारबाहीका लागि सरकारसमक्ष सिफारिस गरिने समितिले जनाएको छ। गृह मन्त्रालयले समितिलाई एक साताभित्र निष्पक्ष छानबिनसहित प्रतिवेदन बुझाउन निर्देशन दिएको छ।
देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर ३० वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो। घटनापछि स्थानीय प्रशासनले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै कर्फ्यु आदेश जारी गरेको थियो।




