काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले असार महिनामा खपत भएको विद्युत्को बिलमा उपभोक्ताबाट असुल गरिएको मूल्य अभिवृद्धि कर (भ्याट) भदौ महिनाको बिलमा अग्रिम भुक्तानीका रूपमा समायोजन गर्ने निर्णय गरेको छ। प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै असारको बिजुली महसुलसँगै भ्याट तिरेका ग्राहकले भदौमा आउने बिलमा सोही बराबरको रकम छुट पाउने जनाएको हो।
यसअघि प्राधिकरणले असारमा खपत भएको विद्युत्को बिलमा साउनदेखि लागू हुने भ्याटसमेत जोडेर ग्राहकलाई बिल पठाएपछि चौतर्फी आलोचना भएको थियो। साउन १ गतेदेखि लागू हुने व्यवस्था असारकै खपतमा लागू गरिएको भन्दै उपभोक्ताले आपत्ति जनाएका थिए। विवादपछि प्राधिकरणले आन्तरिक राजस्व विभागसँग राय मागेको थियो। विभागले सोमबार स्पष्ट पार्दै विद्युत् खपतमा लाग्ने मूल्य अभिवृद्धि कर साउन १ गतेदेखि मात्रै लागू हुने जनाएको छ।
आर्थिक ऐन, २०८३ मार्फत मूल्य अभिवृद्धि कर ऐन, २०५३ संशोधन गर्दै सरकारले विद्युत् सेवा उपभोग गर्ने अन्तिम उपभोक्ताका लागि ५ प्रतिशत तथा अन्य व्यक्तिका हकमा १३ प्रतिशत भ्याट लाग्ने व्यवस्था गरेको छ। राजस्व विभागको स्पष्टिकरणसँगै अब साउनअघि खपत भएको विद्युत्को बिलमा भ्याट तिरेका सबै ग्राहकले भदौ महिनाको बिलमा सोही रकम समायोजनको सुविधा पाउने भएका छन्।




