काठमाडौं – होटल एसोसिएसन नेपाल (HAN) ले बागमती प्रदेशमा होटल तथा आतिथ्य सेवा क्षेत्रलाई थप व्यवस्थित, गुणस्तरीय र प्रभावकारी बनाउन बागमती प्रदेश तदर्थ समिति गठन गरेको छ। पर्यटन आगमन बढी हुने प्रदेशहरूलाई प्राथमिकतामा राख्दै संस्थाको संगठन विस्तार गर्ने अभियानअन्तर्गत बागमती प्रदेश समिति गठन गरिएको हो। शुक्रबार जी रामायण होटलमा एक औपचारिक कार्यक्रमको आयोजना गरी समिति घोषणा गरेको हो । बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालयका सचिव दिपेन्द्र सुवेदीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा नयाँ कार्यसमितिलाई सम्मान गरेको हो ।
समिति गठन कार्यक्रममा बोल्दै होटल एसोसिएसन नेपालका कार्यवाहक अध्यक्ष प्रवीणबहादुर पाण्डेले प्रदेशस्तरमा संगठन विस्तारले होटल व्यवसायलाई थप व्यवस्थित बनाउन, सेवा गुणस्तर अभिवृद्धि गर्न तथा नेपालको पर्यटन उद्योगलाई सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। उनले काठमाडौं र ललितपुरमा एसोसिएसनका क्षेत्रीय कार्यालय स्थापना गर्ने तयारी भइरहेको तथा होटल तथा आतिथ्य क्षेत्रसँग सम्बन्धित कानुन संशोधनका लागि संघीय सरकारसँग छलफल अघि बढाइएको जानकारी दिए।
उनले हाल पनि करिब ३० प्रतिशत पर्यटक कानुनी दर्ताबिनाका होटलमा बस्ने गरेको उल्लेख गर्दै सबै होटललाई कानुनी दायरामा ल्याउनुपर्ने आवश्यकता औँल्याए। साथै, एसोसिएसनमा आबद्ध होटलहरूको विवरण समेटिएको डिजिटल सूचना प्रणाली सञ्चालन गरी पर्यटकलाई विश्वसनीय आवाससम्बन्धी जानकारी उपलब्ध गराउने योजना रहेको बताए। होटल एसोसिएसन नेपालका कानुनी सल्लाहकार गान्धी पण्डितले संघीय संरचनाअनुसार संस्थालाई पुनःसंरचना गर्ने दिशामा बागमती प्रदेश तदर्थ समिति गठन महत्वपूर्ण कदम भएको बताए। होटल उद्योगले लगानी, रोजगारी र विदेशी मुद्रा आर्जनमा ठूलो योगदान पुर्याए पनि राज्यबाट अपेक्षित प्राथमिकता र सहयोग नपाएको उनको भनाइ थियो।

होटल एसोसिएसन नेपाल (HAN) को बागमती प्रदेश तदर्थ समितिको अध्यक्षमा चयन भएपछि पर्यटन तथा होटल व्यवसायी रामसुन्दर बकेले बागमती प्रदेशका होटल व्यवसायीहरूको साझा समस्या समाधानलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले होटल व्यवसायलाई समयानुकूल बनाउन प्रविधिमैत्री सेवा, डिजिटल सूचना प्रणालीको विकास, सेवा गुणस्तर अभिवृद्धि तथा व्यवसायीबीच समन्वयलाई सुदृढ बनाउने योजना अघि सार्नुभयो। सरकारले हात्ती सफारी सञ्चालनमा लगाएको प्रतिबन्धप्रति असन्तुष्टि जनाउँदै संरक्षण र पर्यटनबीच सन्तुलन कायम गरी दीर्घकालीन समाधान खोज्नुपर्ने धारणा राख्नुभयो। नेपालको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन निजी क्षेत्र र सरकारबीच सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै उहाँले कानुनी रूपमा सञ्चालन भएका होटलहरूको प्रवर्द्धन, व्यवसायीका हकहितको संरक्षण, नीति सुधार र पर्यटनमैत्री वातावरण निर्माणका लागि तदर्थ समिति सक्रिय रूपमा लागिपर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले पर्यटन उद्योगलाई मुलुकको आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा स्थापित गर्न नवीन सोच, प्रविधिको अधिकतम प्रयोग र व्यवसायीको मनोबल बढाउने कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइने विश्वाससमेत व्यक्त गर्नुभयो।
कार्यक्रममा प्रमुख अतिथि तथा बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालयका सचिव दीपेन्द्र सुवेदीले प्रदेशको पर्यटन क्षेत्रलाई आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा विकास गर्ने लक्ष्यका साथ मन्त्रालयले योजनाबद्ध रूपमा काम गरिरहेको बताउनुभयो। उहाँका अनुसार धार्मिक, सांस्कृतिक, प्राकृतिक तथा साहसिक पर्यटनको प्रवर्द्धन, नयाँ पर्यटकीय गन्तव्यको पहिचान र पूर्वाधार विकासलाई मन्त्रालयले उच्च प्राथमिकतामा राखेको छ। पर्यटनसँग सम्बन्धित सडक, पदमार्ग, सूचना केन्द्र, विश्रामस्थल, सम्पदा संरक्षण तथा प्रचारप्रसारका कार्यक्रम प्रभावकारी रूपमा अघि बढाइएको उहाँले जानकारी दिनुभयो। निजी क्षेत्रसँग सहकार्य गर्दै पर्यटन क्षेत्रमा लगानी आकर्षित गर्ने, स्थानीय तहसँग समन्वय गरी पर्यटनलाई रोजगारी र आयआर्जनसँग जोड्ने तथा डिजिटल प्रवर्द्धनमार्फत बागमती प्रदेशलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने दिशामा मन्त्रालय निरन्तर सक्रिय रहेको उहाँको भनाइ छ। साथै, पर्यटन क्षेत्रको दिगो विकासका लागि नीति सुधार, सेवा गुणस्तर अभिवृद्धि, पर्यटन व्यवसायीको क्षमता विकास र पर्यटकमैत्री वातावरण निर्माणमा मन्त्रालय प्रतिबद्ध रहेको सचिव सुवेदीले उल्लेख गर्नुभयो।
गठित तदर्थ समितिको पदाधिकारी यसप्रकार छन् :
- अध्यक्ष: रामसुन्दर बके
- उपाध्यक्ष: नेत्रजंग थापा
- महासचिव: शिवराज दुवाडी
- कोषाध्यक्ष: लीना खड्का
- सदस्य: समीर लामा, राजाराम सिलवाल, विनोद जिरेल
- सल्लाहकार: घनश्याम श्रेष्ठ, ज्ञानेन्द्रकुमार बिष्ट, प्रेमकान्त श्रेष्ठ र सत्यराम सुवाल



