काठमाडौं । सनातन वैदिक परम्पराअनुसार प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन मनाइने हरिशयनी एकादशी आज देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ। आजकै दिनदेखि घर–घरका तुलसीको मोठमा दलको बिरुवा सारेर चार महिनासम्म विशेष पूजा–आराधना गर्ने परम्परा सुरु हुन्छ। धार्मिक मान्यताअनुसार भगवान् विष्णु आजदेखि क्षीरसागरमा शयन गर्नुहुने भएकाले यस दिनलाई हरिशयनी एकादशी तथा आगामी चार महिनालाई चतुर्मास भनिन्छ।
धर्मशास्त्रविद्हरूका अनुसार चतुर्मास अवधिभर तुलसीलाई विष्णुको प्रतीक मानी विशेष पूजा गरिन्छ। धेरै भक्तजनले यस अवधिमा पर्ने एकादशीहरूमा व्रत बस्ने परम्परा पनि कायम छ। सक्ने भक्तजनले वर्षभरका २४ वटै एकादशीमा व्रत बस्ने भए पनि अधिकांशले चतुर्मासका आठ एकादशी वा हरिशयनी र हरिबोधिनी एकादशीका दिन विशेष व्रत गर्ने गर्छन्।
हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि काठमाडौंको बुढानीलकण्ठ, उपत्यकाका चार नारायण तथा देशभरका विष्णु र नारायण मन्दिरमा दर्शनार्थीको भीड लागेको छ। एकादशीका दिन चामलबाट बनेका परिकार नखाई रोटी, ढिँडो तथा फलाहार ग्रहण गर्ने धार्मिक परम्परा रहेको छ।
धार्मिक महत्वसँगै तुलसीको वैज्ञानिक महत्व पनि रहेको छ। तुलसीले वातावरण शुद्ध बनाउन, अक्सिजनको मात्रा बढाउन तथा विभिन्न रोगमा औषधीय गुण प्रदान गर्ने भएकाले यसको विशेष महत्व रहेको विज्ञहरू बताउँछन्। वास्तुशास्त्रमा पनि तुलसीको उपस्थितिले सकारात्मक ऊर्जा प्रवाह हुने विश्वास गरिन्छ।
चार महिनासम्म नियमित पूजा गरिएको तुलसीको कार्तिक शुक्ल एकादशी (हरिबोधिनी एकादशी) का दिन भगवान् दामोदरसँग विधिपूर्वक विवाह गराइने परम्परा रहेको छ। त्यसपछि हवनसहित चतुर्मास व्रतको समापन गरिन्छ।



