काठमाडौं – देशभर मनसुन सक्रिय भएसँगै आगामी तीन दिनसम्म भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको छ। मौसमविद्हरूले विशेषगरी पहिरो, बाढी र डुबानको जोखिम बढ्ने भएकाले आवश्यक सतर्कता अपनाउन र सम्भव भएसम्म लामो दूरीको यात्रा नगर्न आग्रह गरेका छन्। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गएरातिदेखि आज बिहानसम्म देशका विभिन्न स्थानमा वर्षा भएको छ। पछिल्लो १२ घण्टामा सिन्धुपाल्चोक, नुवाकोट, अर्घाखाँची र कञ्चनपुरमा उल्लेखनीय वर्षा मापन गरिएको छ।
मौसमविद् उज्ज्वल उपाध्यायका अनुसार आजदेखि सोमबारसम्म कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा मुसलधारे वर्षा हुने सम्भावना रहेकाले जोखिमयुक्त क्षेत्रमा यात्रा र अनावश्यक आवतजावत नगर्न सुझाव दिएका छन्। महाशाखाले यस साताभर देशभर मनसुनी प्रणाली सक्रिय रहने जनाएको छ। विशेषगरी साताको मध्यतिर धेरै स्थानमा मुसलधारे तथा आरीघोप्टे वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्र, साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। भारी वर्षासँगै नदी तथा खोलामा पानीको सतह बढ्ने, बाढी, पहिरो, डुबान, गेग्रान बहाव तथा भूक्षयको जोखिम रहने भएकाले नदी किनार, पहिरो प्रभावित क्षेत्र र डुबान हुने स्थानका बासिन्दालाई उच्च सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्। साथै सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले यात्रा अघि मौसम र सडकको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न सुझाव दिइएको छ।




