काठमाडौं । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना आजदेखि सर्वसाधारणका लागि पुनः सञ्चालनमा आएको छ।
काग, गिद्ध, हाँसलगायत पक्षीमा बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि चिडियाखाना गत असार ५ गतेदेखि बन्द गरिएको थियो। सङ्क्रमण नियन्त्रणका लागि बिरामी पक्षीको उपचार, सरसफाइ तथा आवश्यक व्यवस्थापन सम्पन्न गरेपछि गरिएको वातावरणीय नमूनाको परीक्षणमा एभियन इन्फ्लुएञ्जा (बर्डफ्लु) भाइरस नदेखिएपछि चिडियाखाना पुनः सञ्चालनमा ल्याइएको हो।
चिडियाखाना प्रशासनका अनुसार पशु सेवा विभाग, केन्द्रीय पशु रोग अनुसन्धान प्रयोगशाला तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ अधिकारीहरूको बैठकले चिडियाखाना पुनः खोल्ने निर्णय गरेको थियो।
चिडियाखाना व्यवस्थापनले आगन्तुकलाई जनावर तथा पक्षीसँग सुरक्षित दूरी कायम गरी अवलोकन गर्न आग्रह गरेको छ। साथै आफ्नै साथमा ल्याइएका खानेकुरा खुला स्थानमा नखान, प्रयोगपछि फोहर डस्टबिनमा व्यवस्थापन गर्न तथा अनिवार्य रूपमा मास्क प्रयोग गर्न पनि सर्वसाधारणलाई अनुरोध गरिएको छ।



