विश्वकपमा तेस्रो स्थानका लागि भोलि फ्रान्स र इंग्ल्यान्ड भिड्दै, गोल्डेन बुटको दौड पनि रोमाञ्चक

काठमाडौं – फिफा विश्वकप फुटबलमा तेस्रो स्थानका लागि फ्रान्स र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुने भएको छ। अमेरिका स्थित मियामी रंगशालामा हुने खेल नेपाली समयअनुसार भोलि बिहान २ः४५ बजे सुरु हुनेछ। सेमिफाइनलमा स्पेनसँग पराजित भएको फ्रान्स र साविक विजेता अर्जेन्टिनासँग हार बेहोरेको इंग्ल्यान्ड तेस्रो स्थानका लागि मैदान उत्रिन लागेका हुन्।

यो खेल तेस्रो स्थानको टुंगो लगाउने मात्र नभई प्रतियोगिताको ‘गोल्डेन बुट’ (सर्वाधिक गोलकर्ता) को प्रतिस्पर्धाका लागि पनि महत्वपूर्ण मानिएको छ। हाल अर्जेन्टिनाका लियोनल मेसी र फ्रान्सका किलियन एमबाप्पे समान आठ-आठ गोल गर्दै शीर्ष स्थानमा छन्। यद्यपि, समान गोल भए पनि बढी असिस्टका आधारमा मेसी गोल्डेन बुटको दौडमा अग्रस्थानमा रहेका छन्।

इंग्ल्यान्डका ह्यारी केन र जुड बेलिङहमले समान छ–छ गोल गरेका छन् भने फ्रान्सका उस्मान डेम्बेले र स्पेनका मिकेल ओयार्जाबलको नाममा पाँच–पाँच गोल रहेको छ। तेस्रो स्थानको खेलमा यी खेलाडीले गोल संख्या बढाउने अवसर पाउनेछन्। यसैबीच, विश्वकपको उपाधिका लागि हुने फाइनलमा साविक विजेता अर्जेन्टिना र सन् २०१० को च्याम्पियन स्पेन आमनेसामने हुनेछन्। यो खेल आइतबार मध्यराति १२ः४५ बजे (नेपाली समय) सुरु हुनेछ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्