सप्तकोसीमा पानीको बहाव बढ्यो, कोशी ब्यारेजका २१ ढोका खुला

Saptakoshi water leve at Koshi Barrage

 सुनसरी – लगातारको वर्षासँगै सप्तकोसी नदीमा पानीको बहाव उल्लेखनीय रूपमा बढेको छ। बुधबार साँझसम्म कोशी ब्यारेजमा पानीको बहाव करिब १ लाख ६३ हजार २३० क्युसेक पुगेको जनाइएको छ। पूर्वी नेपालका विभिन्न जिल्लामा वर्षा जारी रहेकाले आगामी घण्टामा नदीको बहाव अझ बढ्न सक्ने अनुमान गरिएको छ। यही अवस्थालाई मध्यनजर गर्दै कोशी ब्यारेजका ५६ मध्ये २१ वटा ढोका खोलिएको छ। ब्यारेजमा ५२ वटा मुख्य ढोका र चार वटा नहरका ढोका रहेका छन्।

प्राविधिक मापदण्डअनुसार नदीको बहाव १ लाख ५० हजार क्युसेकभन्दा माथि पुगेपछि जोखिमको संकेतस्वरूप ब्यारेज क्षेत्रमा रातो बत्ती बाल्ने तथा रातो झण्डा फहराउने व्यवस्था गरिएको छ। सम्बन्धित निकायले नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ। वर्षायाम सुरु भएसँगै सप्तकोसीमा पानीको सतह तीव्र रूपमा बढ्ने भएकाले नदी किनारका क्षेत्रमा डुबान र कटानको जोखिम पनि बढ्ने गर्छ। विशेषगरी असारदेखि भदौसम्म पूर्वी पहाडी क्षेत्र र तराईमा हुने निरन्तर वर्षाले नदीहरूमा बहाव बढ्ने क्रम नियमित देखिने गरेको छ।

सप्तकोसी नदी तमोर, अरुण, सुनकोसी, दूधकोसी, तामाकोसी, भोटेकोसी र इन्द्रावतीलगायत सात प्रमुख नदीको संगमबाट बनेको हो। यही कारण वर्षायाममा यसको बहाव अत्यधिक बढ्ने गर्छ भने सुख्खा मौसममा नदीका धेरै भाग बालुवाले ढाकिएको देखिन्छ। सुरक्षा निकाय र सम्बन्धित निकायले नदी आसपासका स्थानीय, माछा मार्ने समुदाय तथा अनावश्यक रूपमा नदी क्षेत्रमा आवतजावत गर्ने सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्