अब कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन नतिजामै आधारित हुने

काठमाडौं – सरकारी कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन प्रणालीमा परिवर्तन गरिने भएको छ। अब कर्मचारीको मूल्याङ्कन कार्यालयमा बिताएको समय वा व्यक्तिगत धारणाका आधारमा होइन, उनीहरूले हासिल गरेको नतिजा र कार्यसम्पादनका आधारमा गरिने व्यवस्था लागू हुने भएको हो। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सङ्घ, प्रदेश र स्थानीय तहका निकायलाई परिपत्र जारी गर्दै कार्यसम्पादनमा आधारित मूल्याङ्कन प्रणाली कार्यान्वयन गर्न निर्देशन दिएका छन्।

परिपत्रअनुसार प्रत्येक सार्वजनिक निकायले आफ्नो संगठनभित्र रहेका पदहरूको कार्यविवरणका आधारमा स्पष्ट र मापनयोग्य कार्यसम्पादन सूचक तयार गर्नुपर्नेछ। ती सूचकलाई कार्यालयको वार्षिक कार्ययोजना तथा अपेक्षित नतिजासँग जोडिने व्यवस्था गरिनेछ।

यस्तै, कार्यालय प्रमुखदेखि मातहतका कर्मचारी र उनीहरूको प्रत्यक्ष सुपरिवेक्षकबीच वार्षिक कार्यसम्पादन सम्झौता गर्ने व्यवस्था पनि लागू गरिने भएको छ। यसले कर्मचारीको जिम्मेवारी, लक्ष्य र उपलब्धिलाई थप स्पष्ट बनाउने अपेक्षा गरिएको छ। मन्त्रालयका अनुसार कर्मचारीले केवल कार्यालयमा उपस्थित हुनेभन्दा पनि सेवाग्राहीलाई प्रभावकारी सेवा दिने र सरकारका लक्ष्य पूरा गर्ने विषयलाई प्राथमिकतामा राख्नुपर्ने भएकाले नयाँ मूल्याङ्कन प्रणाली लागू गर्न लागिएको हो।

नयाँ व्यवस्थाअनुसार प्रत्येक तीन महिनामा कार्यसम्पादनको समीक्षा गरिनेछ। समीक्षा क्रममा कार्यालयको लक्ष्य, हासिल भएको प्रगति, देखिएका चुनौती तथा समाधानका उपायबारे मूल्याङ्कन गरी आवश्यक सुधारका योजना बनाइने व्यवस्था गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्