काठमाडौं- लगातारको वर्षापछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय काभ्रेले बीपी राजमार्गको काभ्रे खण्डमा सवारीसाधनको आवागमन अस्थायी रूपमा रोकिएको जनाएको छ।
रोशी खोलाको जलाधार क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले सडकमा आकस्मिक बाढी, कटान तथा अन्य जोखिम हुन सक्ने भन्दै राजमार्गमा सवारी आवागमन ‘होल्ड’ गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी रविन कार्कीका अनुसार सडक पूर्ण रूपमा सुरक्षित रहेको पुष्टि भएपछि अर्को सूचना जारी गर्दै सवारी आवागमन पुनः सञ्चालन गरिनेछ।
यसैबीच, कोशी नदीमा पानीको बहाव खतराको तह नाघेको छ। आज बिहान करिब ६ बजे १ लाख ३१ हजार २०० क्युसेक रहेको बहाव दिउँसो बढेर १ लाख ५८ हजार क्युसेकभन्दा माथि पुगेको छ। बढ्दो बहावलाई नियन्त्रण गर्न कोशी ब्यारेजका ५६ मध्ये १८ वटा ढोका खोलिएको छ भने जोखिमको संकेतस्वरूप रातो झण्डा र रातो बत्तीसमेत बालिएको छ।
जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म देशका ३४ जिल्लाका साना नदी तथा खोलामा आकस्मिक बाढी आउन सक्ने पूर्वानुमान गरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नदी तथा खोला आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन, अनावश्यक रूपमा नदी किनारमा नजान तथा स्थानीय प्रशासनको सूचनाको पालना गर्न आग्रह गरेको छ।
हाल बागमती र गण्डकी प्रदेशका अधिकांश स्थानमा तथा अन्य प्रदेशका केही स्थानमा वर्षा जारी रहेकाले बाढी, पहिरो र डुबानको जोखिम अझ बढ्न सक्ने मौसमविद्को चेतावनी छ।





