काठमाडौं- कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलामा लेदोसहित आएको आकस्मिक बाढीले मोदी खोलाको जलसतह एक्कासी बढ्दा नदी किनारका घर, रेष्टुरेन्ट, सडक तथा पुलमा ठूलो क्षति पुगेको छ। बाढीका कारण प्रसिद्ध पर्यटकीय गन्तव्य घान्द्रुक जाने नयाँपुल-बिरेठाँटी–घान्द्रुक सडक पूर्ण रूपमा अवरुद्ध भएको छ भने मोदी खोलामा सञ्चालित चारवटा जलविद्युत् आयोजनाले विद्युत् उत्पादन बन्द गरेका छन्।
बाढीले अन्नपूर्ण गाउँपालिका-८ र १० को सिमानास्थित सेउलीबजारमा स्थानीय दिलीप गुरुङको घर तथा रेष्टुरेन्ट पूर्ण रूपमा बगाएको छ। किम्रुङ खोलाबाट आएको लेदोसहितको बाढी मोदी खोलामा मिसिएपछि नदीको बहाव अस्वाभाविक रूपमा बढ्दा सडक कटान हुनुका साथै खोलामाथिको झोलुङ्गे पुल पनि बगेको छ।
झोलुङ्गे पुल बगेपछि अन्नपूर्ण पदमार्ग हुँदै यात्रा गर्ने स्थानीय तथा स्वदेशी–विदेशी पर्यटकको आवागमन प्रभावित भएको छ। सडक अवरुद्ध हुँदा घान्द्रुक, लान्द्रुकलगायत पर्यटकीय क्षेत्रमा जाने सयौँ सवारीसाधन बीच बाटोमै रोकिएका छन्। निरन्तर वर्षा भइरहेकाले तत्काल सडक सञ्चालनमा ल्याउन कठिन रहेको प्रहरीले जनाएको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्रहरीले स्थानीय बासिन्दालाई नदी किनारमा नजान, उच्च सतर्कता अपनाउन तथा आवश्यक परे सुरक्षित स्थानमा सर्न आग्रह गरेको छ। राससबाट साभार




