गणेश नेपाली आत्मदाह प्रकरण: महानगर प्रहरीका कर्मचारी निलम्बन गरिने

काठमाडौं- त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि भएको गणेश नेपाली आत्मदाह प्रकरणमा घटनास्थलमा अग्रभागमा खटिएका काठमाडौं महानगरपालिकाका महानगरीय प्रहरी बलका कर्मचारीलाई निलम्बन गरिने भएको छ।

पीडित परिवारसँग भएको सहमतिअनुसार उक्त दिन घटनास्थलमा खटिएका महानगर प्रहरीलाई हालका लागि निलम्बन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौं महानगरपालिकालाई पत्राचार गर्ने सहमति भएको हो। सहमतिअनुसार छानबिन समितिको प्रतिवेदन तथा सिफारिसका आधारमा आवश्यक थप निर्णय गरिनेछ।

सहमतिको तेस्रो बुँदामा घटना भएको दिन फिल्डमा अग्रभागमा खटिएका महानगरीय प्रहरी बलका कर्मचारीलाई तत्काल निलम्बन गरी त्यसपछिको कारबाही छानबिन समितिको प्रतिवेदनअनुसार अघि बढाइने उल्लेख गरिएको छ।

गत बिहीबार राहदानी विभाग अगाडि आफ्नो मोटरसाइकलमा ह्विललक लगाइएको विषयमा विवाद भएपछि २५ वर्षीय गणेश नेपालीले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। गम्भीर घाइते भएका उनको उपचारका क्रममा भोलिपल्ट वीर अस्पतालमा मृत्यु भएको थियो।

घटनापछि प्रहरीले महानगर प्रहरीका कर्मचारी तथा घटनाका प्रत्यक्षदर्शीलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो। आवश्यक बयान तथा घटना विवरण संकलनपछि उनीहरूलाई शनिबार रिहा गरिएको प्रहरीले जनाएको छ।

यस घटनाको निष्पक्ष छानबिनका लागि काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) गोविन्द थपलियाको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ। समितिले घटनाको विस्तृत अध्ययन गरी प्रतिवेदन सरकारसमक्ष पेश गर्नेछ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्