भक्तपुर । भक्तपुर र काभ्रेका जनप्रतिनिधिहरूले रानिकोट क्षेत्रको स्थलगत भ्रमण गर्दै पर्यटन, पूर्वाधार र स्थानीय विकासका सम्भावनाबारे अध्ययन गरेका छन्। होटल तथा पर्यटन व्यवसायी तथा समाजसेवी राम सुन्दर बेकेसहित स्थानीय अगुवाहरूको पहलमा सम्पन्न भ्रमणमा रानिकोटको समग्र विकासका लागि आवश्यक योजनाबारे छलफल गरिएको हो।
भ्रमणका क्रममा स्थानीयले जनप्रतिनिधिहरूलाई रानिकोटको भौगोलिक अवस्था, ग्रामीण बस्तीका समस्या, कृषि, पर्यटन, सडक, खानेपानी तथा अन्य पूर्वाधार विकासका आवश्यकताबारे जानकारी गराउँदै सडक निर्माण र स्तरोन्नतिलाई प्राथमिकतामा राख्न आग्रह गरेका छन्। स्थानीयका अनुसार गुणस्तरीय सडक सञ्जाल विस्तार भए कृषि उत्पादनको बजारीकरण, पर्यटन प्रवर्द्धन र स्थानीय जनजीवन सहज हुने विश्वास व्यक्त गरिएको छ।
रानिकोटमा प्रत्येक शनिबार सञ्चालन हुँदै आएको किसान हातबजारले स्थानीय कृषकलाई आफ्ना उत्पादन गाउँमै बिक्री गर्ने अवसर प्रदान गरेको छ। यसबाट बिचौलियाको प्रभाव घट्नुका साथै किसानले उत्पादनको उचित मूल्य पाउन थालेको स्थानीयहरूको भनाइ छ। आन्तरिक पर्यटन विस्तारसँगै रानिकोटमा साना–ठूला होटल तथा होमस्टे सञ्चालन बढ्दै गएको छ। धेरै स्थानीयले होमस्टे व्यवसाय सुरु गर्ने तयारी गरिरहेका छन्। आवश्यक पूर्वाधार, सडक पहुँच र प्रभावकारी प्रचार–प्रसार गर्न सके रानिकोट निकट भविष्यमा ग्रामीण पर्यटनको प्रमुख गन्तव्य बन्न सक्ने स्थानीयको विश्वास छ।
होटल तथा पर्यटन व्यवसायी तथा समाजसेवी राम सुन्दर बेकेले स्थानीय सरकार, जनप्रतिनिधि, व्यवसायी र समुदायबीच सहकार्य गर्दै “मेरो सीप, मेरो गाउँ” जस्ता अभियान सञ्चालन गर्न सके गाउँमै रोजगारी सिर्जना हुने, युवाको वैदेशिक पलायन घट्ने र स्थानीय अर्थतन्त्र थप सुदृढ हुने बताउनुभयो।
भ्रमणका सहभागी जनप्रतिनिधिहरूलाई भिलेज हाईल्याण्ड रिसोर्टमा स्वागत तथा सम्मान गरिएको थियो। कार्यक्रममा रानिकोटलाई ग्रामीण पर्यटनको नमुना गन्तव्यका रूपमा विकास गर्न पर्यटन प्रवर्द्धन, पूर्वाधार निर्माण, कृषि उत्पादनको बजारीकरण र सबै सरोकारवालाबीच प्रभावकारी सहकार्य आवश्यक रहेकोमा जोड दिइयो। स्थानीयवासीले जनप्रतिनिधिहरूले प्रत्यक्ष रूपमा गाउँको अवस्था बुझेकाले अब विकास निर्माणका योजनाले गति लिने विश्वास व्यक्त गरेका छन्।




