अभिनेत्री दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको सफल ब्रेन ट्युमर शल्यक्रिया गरिएको छ। केही दिनदेखि स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको थियो, जहाँ वरिष्ठ न्यूरो सर्जन डा. बसन्त पन्त नेतृत्वको चिकित्सक टोलीले शल्यक्रिया गरेको हो।

अभिनेता तथा निर्माता दीपकराज गिरीका अनुसार शल्यक्रिया सफल भएको छ र अहिले दीपाश्रीको स्वास्थ्य अवस्था क्रमिक रूपमा सुधार भइरहेको छ। हाल उहाँ आइसियूबाट जनरल वार्डमा सारिएर चिकित्सकको निगरानीमा स्वास्थ्यलाभ गरिरहनुभएको छ।

चलचित्र ‘छ माया छपक्कै-२’ को छायांकनकै क्रममा स्वास्थ्यमा समस्या देखिएपछि गरिएको स्वास्थ्य परीक्षणबाट उहाँको मस्तिष्कमा ट्युमर रहेको पुष्टि भएको थियो। त्यसपछि चिकित्सकको सल्लाहअनुसार तत्काल शल्यक्रिया गरिएको हो।

नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आउनुभएकी दीपाश्री निरौलाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै चलचित्रकर्मी, शुभेच्छुक तथा प्रशंसकहरूले सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गरिरहेका छन्। उहाँ पूर्ण रूपमा स्वास्थ्यलाभ गरी पुनः चलचित्र क्षेत्रमा सक्रिय हुने अपेक्षा गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्