हर्मुज जलमार्गलाई लिएर अमेरिका-इरान तनाव फेरि चर्कियो

काठमाडौँ – अमेरिका र इरानबीचको सैन्य तनाव पुनः तीव्र बनेको छ। हर्मुज जलमार्गको नियन्त्रणलाई लिएर दुवै देशबीच नयाँ आक्रमण र प्रतिआक्रमण सुरु भएपछि गएको महिना भएको अस्थायी युद्धविराम संकटमा परेको छ।

इरानले अर्को सूचना नभएसम्म हर्मुज जलमार्ग बन्द गरिएको घोषणा गरेको छ। तर अमेरिकाले जलमार्ग पूर्ण रूपमा खुला रहेको दाबी गर्दै अन्तर्राष्ट्रिय व्यापारिक तथा तेल बोकेका जहाजहरूको सुरक्षित आवतजावत सुनिश्चित गर्न आफ्ना नौसैनिक बल परिचालन गरेको जनाएको छ।

तनाव चर्किएसँगै अमेरिकी केन्द्रीय कमान्डले इरानका १४० भन्दा बढी सैन्य लक्ष्यमा हवाई आक्रमण गरेको जनाएको छ। त्यसको जवाफस्वरूप इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले अमेरिका र उसका क्षेत्रीय साझेदारविरुद्ध व्यापक मिसाइल तथा ड्रोन आक्रमण गरेको दाबी गरेको छ।

इरानले संयुक्त अरब इमिरेट्स, कतार, कुवेत, ओमान र बहराइनतर्फ पनि मिसाइल तथा ड्रोन प्रहार गरेको जनाएको छ। यद्यपि ती देशहरूले आफ्ना हवाई प्रतिरक्षा प्रणाली सक्रिय पारेर अधिकांश आक्रमण निष्प्रभावी बनाइएको बताएका छन्।

बीबीसीका अनुसार जोर्डनस्थित अमेरिकी सैन्य अड्डामाथि भएको भनिएको आक्रमणबारे अमेरिकाले थप विवरण सार्वजनिक गरेको छैन। पछिल्ला सैन्य कारबाहीले शान्ति स्थापनाका लागि सुरु भएका कूटनीतिक प्रयासहरू प्रभावित भएका छन् भने दुवै देशबीचको विश्वासको वातावरण थप कमजोर बनेको छ।

विश्वको ठूलो हिस्सा तेल आपूर्ति हुने हर्मुज जलमार्गमा बढ्दो तनावले अन्तर्राष्ट्रिय ऊर्जा बजार, समुद्री व्यापार तथा विश्व सुरक्षामा गम्भीर असर पर्ने चिन्ता बढेको छ। यसैबीच संयुक्त राष्ट्रसंघसहित अन्तर्राष्ट्रिय समुदायले दुवै पक्षलाई संयमता अपनाउँदै वार्तामार्फत समस्या समाधान गर्न आग्रह गरेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्