काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज र भोलि देशका विभिन्न क्षेत्रमा आरीघोप्टे तथा मुसलधारे वर्षा हुने सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा अति भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज र भोलि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा ठूलोदेखि अति ठूलो वर्षा हुन सक्ने अनुमान गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा केही स्थानमा अत्यधिक वर्षा हुने सम्भावना रहेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लगातारको वर्षासँगै आकस्मिक बाढी, पहिरो, नदी कटान, गेग्रान बहाव तथा शहरी र तराई क्षेत्रमा डुबानको जोखिम बढ्ने भएकाले आवश्यक पूर्वतयारी र सावधानी अपनाउन सबैलाई आग्रह गरेको छ।
प्राधिकरणले विशेषगरी नदी, खोला र खोल्साको आसपास बसोबास गर्ने, पहिरोको उच्च जोखिम भएका क्षेत्रका बासिन्दा तथा यात्रामा निस्कने नागरिकलाई थप सतर्क रहन अनुरोध गरेको छ। साथै जोखिमयुक्त राजमार्ग तथा सडकमा डोजर, एक्स्काभेटर, लोडरलगायतका उपकरण तयारी अवस्थामा राख्न तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, स्थानीय तह र स्वयंसेवकलाई उद्धार तथा प्रतिकार्यका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको छ।
आपत्कालीन अवस्थाका लागि वर्षा तथा बाढीसम्बन्धी जानकारी लिन ११५५, विपद् सहायता १२३४, नेपाल प्रहरी १०० र सशस्त्र प्रहरी बल १११४ नम्बरमा सम्पर्क गर्न तथा जल तथा मौसम विज्ञान विभाग र विपद् प्राधिकरणबाट जारी हुने अद्यावधिक सूचना नियमित रूपमा पालना गर्न पनि प्राधिकरणले आग्रह गरेको छ।




