काठमाडौं – जुड बेलिङ्घमको उत्कृष्ट प्रदर्शनमा इंग्ल्यान्ड फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ। अमेरिकाको मियामीमा शुक्रबार बिहान सम्पन्न क्वार्टरफाइनलमा इंग्ल्यान्डले नर्वेलाई २-१ ले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।
खेलको ३६औँ मिनेटमा एन्ड्रियस इस्लेअपले गोल गर्दै नर्वेलाई अग्रता दिलाएका थिए। तर पहिलो हाफको अन्त्यतिर जुड बेलिङ्घमले बराबरी गोल गर्दै इंग्ल्यान्डलाई खेलमा फर्काए। निर्धारित ९० मिनेटमा थप गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त समयको तेस्रो मिनेट (९३औँ मिनेट) मा बेलिङ्घमले व्यक्तिगत दोस्रो तथा टोलीका लागि निर्णायक गोल गर्दै इंग्ल्यान्डलाई २-१ को रोमाञ्चक जित दिलाए।
यस जितसँगै इंग्ल्यान्डले विश्वकपको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। अब इंग्ल्यान्डले साविक विजेता अर्जेन्टिना र स्विट्जरल्यान्डबीचको क्वार्टरफाइनल विजेतासँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ।




