काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय भएसँगै काठमाडौं उपत्यकामा आकस्मिक बाढीको उच्च जोखिम देखिएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले शनिबार बिहान जारी गरेको बुलेटिनमार्फत काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे र आसपासका क्षेत्रका साना नदी तथा खोलामा आकस्मिक बाढी आउन सक्ने उच्च सम्भावना रहेको जनाएको हो।
हाल देशभर अधिकांश स्थानमा बादल लागेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि नेपालको दक्षिणी भूभाग नजिक रहेकाले वर्षा थप सक्रिय हुन सक्ने अनुमान गरिएको छ।
महाशाखाका अनुसार नुवाकोट, ताप्लेजुङ, सङ्खुवासभा, तेह्रथुम, पाँचथर, खोटाङ, दोलखा, रामेछाप, सिन्धुली, मकवानपुर, चितवन, नवलपरासी, कास्की, रसुवा, धादिङ, बारा, पर्सा, रौतहट, कपिलवस्तु, रुपन्देही, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, दाङ, प्युठान, जाजरकोट, जुम्ला, दार्चुला लगायत ३१ जिल्लाका साना नदी तथा खोलामा पनि आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ।
यद्यपि हाल कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली तथा तिनका प्रमुख सहायक नदीहरूको बहाव सतर्कता तहभन्दा तल रहेको छ। कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव पनि सामान्य अवस्थामा रहेको महाशाखाले जनाएको छ।
महाशाखाले आगामी दुई दिनसम्म देशभरका साना नदी तथा खोलामा बहाव अचानक बढ्न सक्ने सम्भावना रहेकाले नदी किनार तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।





