काठमाडौं । काठमाडौंको बुद्धनगरमा एक पुरुषले शनिबार बिहान आत्मदाहको प्रयास गरेका छन्। काठमाडौं महानगरपालिका–१० स्थित आफ्नै घरमा ४५ वर्षीय अश्विन राउतले शरीरमा आगो लगाएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार राउतलाई गम्भीर अवस्थामा उद्धार गरी वीर अस्पतालमा भर्ना गरिएको छ, जहाँ उनको उपचार भइरहेको छ।
प्रारम्भिक अनुसन्धानअनुसार पारिवारिक विवादपछि राउत भान्सामा गएर आत्मदाहको प्रयास गरेका थिए। पारिवारिक स्रोतका अनुसार उनी लामो समयदेखि डिप्रेसनको समस्याबाट पनि पीडित रहेका थिए।
अस्पतालका अनुसार राउतको शरीरको करिब ५५ प्रतिशत भाग जलेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





