काठमाडौं — कञ्चनपुरका पत्रकार खेम भण्डारी अदालतको फैसला कार्यान्वयनका लागि पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बिहीबार उनलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतका अनुसार भण्डारीविरुद्ध गालीबेइज्जतीसम्बन्धी मुद्दामा अदालतले सुनाएको फैसला कार्यान्वयन गर्न पक्राउ गरिएको हो।
उच्च अदालत दिपायल, महेन्द्रनगर इजलासले गत चैत २२ गते कञ्चनपुर जिल्ला अदालतको फैसला आंशिक रूपमा संशोधन गर्दै भण्डारीलाई थप सात दिन कैद र दुई हजार १०० रुपैयाँ जरिबानाको सजाय सुनाएको थियो।
यसअघि कञ्चनपुर जिल्ला अदालतले भण्डारीलाई एक महिना कैद, १० हजार रुपैयाँ जरिबाना तथा पीडित किरणराज विष्टलाई एक लाख रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने फैसला गरेको थियो। उच्च अदालतको निर्णयसँगै अब उनले कुल एक महिना सात दिन कैद, १२ हजार १०० रुपैयाँ जरिबाना र एक लाख रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने भएको छ।
यो मुद्दा निर्मला पन्त हत्या प्रकरणसँग सम्बन्धित सामाजिक सञ्जाल र अनलाइन सामग्रीका कारण दायर भएको थियो। अदालतले भण्डारीले कुनै वस्तुनिष्ठ प्रमाणबिना फेसबुक तथा अनलाइन माध्यमबाट किरणराज विष्टको चरित्रहत्या हुने गरी सामग्री प्रकाशन गरेको ठहर गरेको छ।
फैसलामा विद्युतीय तथा आमसञ्चार माध्यम प्रयोग गरी गालीबेइज्जती गरेको भन्दै मुलुकी अपराध संहिता, २०७४ बमोजिम थप सजाय गरिएको उल्लेख छ। अदालतले समाचार तथा सार्वजनिक अभिव्यक्ति सत्यतथ्यमा आधारित हुनुपर्ने र प्रेस स्वतन्त्रताको नाममा कसैको व्यक्तिगत प्रतिष्ठामा आँच पुर्याउने कार्य स्वीकार्य नहुने स्पष्ट गरेको छ।
प्रहरीले पक्राउ परेका भण्डारीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी अदालतको फैसला कार्यान्वयन गरिने जनाएको छ।




