काठमाडौं – सरकारले नेपाल प्रहरीका ८ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेल ले बैठकका निर्णय सार्वजनिक गर्दै विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको रिक्त कार्यकारी निर्देशक पदमा धर्मराज खड्का (धनकुटा) लाई नियुक्त गर्ने निर्णय भएको जानकारी दिए।
बैठकले कमैया श्रम निषेध गर्ने सम्बन्धी (पहिलो संशोधन) नियमावली, २०८३ र शिक्षा (दशौँ संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ। त्यसैगरी गोरखापत्र संस्थान को महाप्रबन्धक पदमा हिक्मतबहादुर रावल (कैलाली) तथा सुरक्षण मुद्रण केन्द्र को कार्यकारी निर्देशक पदमा देवराज ढुंगाना (मोरङ) लाई नियुक्त गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।
सरकारले अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन तथा खारेज गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेस गर्न स्वीकृति दिएको छ। साथै, समुद्री जैविक विविधताको संरक्षण तथा दिगो उपयोगसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धिअन्तर्गतको सम्झौता अनुमोदनका लागि सङ्घीय संसद्मा पेस गर्न पनि स्वीकृति प्रदान गरिएको छ।
यसैबीच मन्त्रिपरिषद्ले राष्ट्रिय सदाचार नीति, २०८३ र राष्ट्रिय विज्ञापन नीति, २०८३ समेत स्वीकृत गर्ने निर्णय गरेको छ।




