बर्डफ्लु नियन्त्रणमा जुट्यो पशु सेवा विभाग, ११ जिल्लामा करिब ६ लाख कुखुरा नष्ट

काठमाडौं – देशका विभिन्न जिल्लामा बर्डफ्लु (एच५एन१) संक्रमण तीव्र रूपमा फैलिँदा कुखुरापालन व्यवसाय ठूलो संकटमा परेको छ। हालसम्म ११ जिल्लाका ८७ स्थानमा संक्रमण पुष्टि भइसकेको छ भने करिब ६ लाख पन्छी, झण्डै १० लाख अन्डा र ठूलो परिमाणमा दाना नष्ट गरिएको छ। पशु सेवा विभागका अनुसार संक्रमण हाल काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेमा बढी सक्रिय छ। काठमाडौं उपत्यकामा मात्रै पछिल्लो समय पाँच स्थानमा संक्रमण पुष्टि भएको छ। सदर चिडियाखानाका पन्छीमा समेत संक्रमण देखिएपछि चिडियाखाना अनिश्चितकालका लागि बन्द गरिएको छ।

ललितपुरको गोदावरी नगरपालिका, भक्तपुरको चाँगुनारायण र सूर्यविनायकलगायत क्षेत्रमा हजारौँ कुखुरा नष्ट गरिएका छन्। पशु चिकित्सकहरूका अनुसार लेयर्स र स्थानीय जातका कुखुरामा संक्रमण बढी देखिएको छ भने ब्रोइलर कुखुरामा संक्रमण अपेक्षाकृत कम रहेको छ। सरकारको राहतसम्बन्धी मापदण्डअनुसार संक्रमणका कारण नष्ट गरिएका कुखुरा, अन्डा तथा दानाको लागत मूल्यको ७५ प्रतिशतसम्म क्षतिपूर्ति दिने व्यवस्था भए पनि यस वर्ष संक्रमण व्यापक फैलिएकाले बजेट अभाव भएको पशु सेवा विभागले जनाएको छ। विभागले थप राहत रकम उपलब्ध गराउन कृषि तथा वन मन्त्रालयमार्फत अर्थ मन्त्रालयसँग अतिरिक्त बजेट माग गरेको छ।

विभागका अनुसार चालु आर्थिक वर्षमा किसान राहतका लागि २ करोड रुपैयाँ मात्र विनियोजन गरिएको थियो, जबकि बर्डफ्लुबाट भएको प्रत्यक्ष क्षति करिब ६० करोड रुपैयाँ पुगेको प्रारम्भिक अनुमान गरिएको छ। आगामी आर्थिक वर्षका लागि भने राहत वितरण शीर्षकमा ५६ करोड रुपैयाँ छुट्याइएको छ। कोशी प्रदेशका मोरङ, सुनसरी र झापामा मात्रै ५० करोड रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ। ती जिल्लाका किसानले क्षतिपूर्तिका लागि विवरण बुझाइसके पनि हालसम्म राहत रकम प्राप्त गर्न सकेका छैनन्। किसानहरूले राहत वितरणमा ढिलाइ हुँदा व्यवसाय पुनः सञ्चालन गर्न कठिनाइ भएको गुनासो गरेका छन्।

पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार बुधबार मात्र काठमाडौं उपत्यकाका ५ ठाउँमा बर्डफ्लु देखिएको छ । अहिलेसम्म झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रे गरी ११ जिल्लाका ८७ स्थानमा बर्डफ्लु पुष्टि भएको छ । काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेमा मात्र ‘सक्रिय केस’ रहेको विभागले जनाएको छ ।

यसैबीच, पशु स्वास्थ्य विज्ञहरूले बर्डफ्लुका कारण उपभोक्ताले अनावश्यक त्रसित हुन नपर्ने बताएका छन्। उनीहरूका अनुसार कुखुराको मासु र अन्डा राम्रोसँग पकाएर वा उमालेर खाएमा भाइरस नष्ट हुने भएकाले सुरक्षित रूपमा उपभोग गर्न सकिन्छ। विज्ञहरूले कुखुरा फार्ममा जैविक सुरक्षा अपनाउन, जंगली चराको प्रवेश रोक्न, नियमित सरसफाइ गर्न तथा संक्रमण देखिएमा सम्बन्धित निकायलाई तत्काल जानकारी गराउन किसान र व्यवसायीलाई आग्रह गरेका छन्। बर्डफ्लुलाई नियन्त्रणमा राख्न समयमै पहिचान, निसंक्रमण र आवश्यक सावधानी नै सबैभन्दा प्रभावकारी उपाय हुने उनीहरूको भनाइ छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्