काठमाडौं– होटल संघ नेपाल (HAN) ले बागमती प्रदेश तदर्थ समितिको अध्यक्षमा पर्यटन व्यवसायी रामसुन्दर बकेलाई मनोनयन गरेको छ। होटल संघ नेपालका अध्यक्ष विनायक शाहद्वारा हस्ताक्षरित मनोनयन पत्रअनुसार असार १४ गते बसेको संघको कार्यसमिति बैठकको निर्णयबमोजिम भक्तपुरस्थित भिलेज हाईल्याण्ड रिसोर्टका प्रबन्ध निर्देशकसमेत रहेका बकेलाई बागमती प्रदेश तदर्थ समितिको अध्यक्षको जिम्मेवारी प्रदान गरिएको हो।
संघले बकेलाई बागमती प्रदेशअन्तर्गतका सबै जिल्लालाई समेट्ने गरी प्रभावकारी, समावेशी तथा सुदृढ प्रदेश समिति गठन गर्ने जिम्मेवारी दिएको छ। साथै संघको विधान तथा कार्यविधिअनुसार प्रदेश समितिको गठन गरी पदाधिकारी तथा सदस्यहरूको नामावली होटल संघ नेपालको सचिवालयमा उपलब्ध गराउन पनि अनुरोध गरिएको छ।
होटल तथा पर्यटन उद्योगको प्रवर्द्धन, व्यवसायीहरूको हित संरक्षण तथा संघको संगठनात्मक संरचनालाई थप सुदृढ बनाउन नवनियुक्त अध्यक्ष बकेले प्रभावकारी नेतृत्व प्रदान गर्ने विश्वास संघले व्यक्त गरेको छ। होटल संघ नेपालले नवनियुक्त अध्यक्ष बकेलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै बागमती प्रदेशमा होटल तथा पर्यटन क्षेत्रको विकास, व्यवसायिक एकता र संस्थागत सुदृढीकरणमा उहाँको नेतृत्व महत्वपूर्ण हुने विश्वास व्यक्त गरेको जनाएको छ।





