न्यूनतम सेवा मापदण्डमा भरतपुर अस्पताल फेरि उत्कृष्ट, लगातार दोस्रो वर्ष पहिलो स्थान

भरतपुर । भरतपुर अस्पताल न्यूनतम सेवा मापदण्ड (एमएसएस) मूल्याङ्कनमा देशकै उत्कृष्ट सङ्घीय अस्पताल घोषित भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको गुणस्तर मापन तथा नियमन महाशाखाले गरेको अनुगमन तथा मूल्याङ्कनमा अस्पतालले ८९ अङ्क प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको हो।

गत आर्थिक वर्ष ८८ अङ्कसहित उत्कृष्ट बनेको भरतपुर अस्पतालले यस वर्ष आफ्नो प्रदर्शन थप सुधार गर्दै ८९ अङ्क हासिल गरेको छ। मूल्याङ्कनमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान ७७ अङ्कसहित दोस्रो तथा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ७१ अङ्कसहित तेस्रो स्थानमा रहेका छन्। पाटन अस्पतालको मूल्याङ्कन भने जारी रहेको मन्त्रालयले जनाएको छ।

गुणस्तर मापन तथा नियमन महाशाखाका संयोजक डा. श्रीराम तिवारीका अनुसार देशभरका १४ वटा सङ्घीय अस्पतालको सेवा प्रवाहलाई एक हजार ४ सय ९७ वटा सूचकका आधारमा मूल्याङ्कन गरिएको थियो। ती सूचकमा भरतपुर अस्पतालले उत्कृष्ट नतिजा हासिल गरेको हो।

भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. विश्वबन्धु बगालेले अघिल्लो वर्षको तुलनामा यस वर्ष अस्पतालले सेवा प्रवाहमा थप सुधार गरेको बताए। उनका अनुसार बिरामीले पाउने सेवा–सुविधा, अत्याधुनिक उपकरण, कार्यतालिका, सरसफाइ, औषधि व्यवस्थापन तथा जनशक्तिको प्रभावकारी परिचालनमा सुधार गर्दै अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरिरहेको छ।

हाल ६ सय शय्याको भरतपुर अस्पतालमा दैनिक दुई हजार पाँच सयदेखि तीन हजारसम्म बिरामीले बहिरङ्ग सेवा लिने गरेका छन्। अस्पतालले १४ वटा अतिविशिष्ट स्वास्थ्य सेवा सञ्चालन गर्दै आएको छ। जिल्लाका निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा बन्द भएपछि बीमाअन्तर्गत उपचार गराउने बिरामीको चाप समेत भरतपुर अस्पतालमा उल्लेख्य रूपमा बढेको अस्पतालले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्