सेबोन अध्यक्ष भट्टले लिए शपथ, अर्थमन्त्री वाग्लेद्वारा लगानीकर्ताको हितमा काम गर्न निर्देशन

काठमाडौं – नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उहाँलाई शपथ गराउनुभएको हो। गत असार ५ गते बसेको मन्त्रिपरिषद् बैठकले डा. भट्टलाई नेपाल धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो।

शपथ ग्रहणपछि अर्थमन्त्री वाग्लेले नवनियुक्त अध्यक्ष भट्टलाई पूँजीबजारलाई पारदर्शी, विश्वसनीय र लगानीकर्तामैत्री बनाउन विशेष ध्यान दिन निर्देशन दिनुभयो। उहाँले लगानीकर्ताको हित संरक्षण, पूँजी परिचालनको विस्तार तथा आर्थिक वृद्धिमा पूँजीबजारको योगदान बढाउने दिशामा प्रभावकारी ढंगले काम गर्न आग्रह गर्नुभयो।

अर्थमन्त्री वाग्लेले कुनै पनि प्रकारको दबाब वा प्रभावमा नपरी निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न निर्देशन दिँदै पूँजीबजार सुधारका लागि अल्पकालीन तथा दीर्घकालीन कार्ययोजना तयार गरी समयसीमाभित्र कार्यान्वयन गर्नुपर्ने बताउनुभयो। बजारमा फैलिने अफवाह र अनावश्यक हल्लाका कारण साना लगानीकर्तामा पर्ने असरलाई न्यूनीकरण गर्न पनि उहाँले जोड दिनुभयो।

यस्तै, पूँजीबजार सुधारका लागि दैनिक, साप्ताहिक, मासिक, छ महिनाको तथा वार्षिक कार्ययोजना तयार गरी कार्यान्वयन गर्नुपर्ने उल्लेख गर्दै अर्थमन्त्री वाग्लेले बजारको अवस्थाबारे नियमित जानकारी मन्त्रालयलाई उपलब्ध गराउन पनि निर्देशन दिनुभयो।

शपथपछि नवनियुक्त अध्यक्ष डा. भट्टले सरकारको नीति तथा निर्देशनअनुसार पूँजीबजारको सुधार, विकास र लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले आफ्नो अनुभव, ज्ञान र सीपलाई बजारको विश्वसनीयता अभिवृद्धि तथा आर्थिक विकासमा योगदान पुग्ने गरी प्रयोग गर्ने बताउनुभयो।

अध्यक्ष भट्टले पूँजीबजार सुधारका लागि विगतमा भएका अध्ययन, सुझाव र सिफारिसलाई कार्यान्वयन गर्दै नियामक निकायको भूमिका थप प्रभावकारी बनाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्