काठमाडौं- विशेष अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानमा रहेका नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धानका लागि म्याद थपको माग गर्दै आज विशेष अदालतमा उपस्थित गराएपछि न्यायाधीशहरूको इजलासले थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।
पौडेललाई गत असार ८ गते सुर्खेतबाट पक्राउ गरिएको थियो। विभागका अनुसार उहाँमाथि शेयर कारोबार तथा सम्पत्तिको स्रोतबारे अनुसन्धान भइरहेको छ। अनुसन्धान जारी रहेकाले आवश्यक प्रमाण संकलनका लागि थप समय आवश्यक परेको भन्दै विभागले म्याद थपको माग गरेको जनाएको छ।
विशेष अदालतको आदेशसँगै अब अनुसन्धान टोलीले थप तीन दिनसम्म पौडेलसँग सोधपुछ तथा आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाउनेछ।




