हाल्यान्डको दुई गोलमा इराकमाथि नर्वेको शानदार जित

फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘आई’ को आफ्नो पहिलो खेलमा नर्वेले इराकलाई ४–१ गोलले पराजित गर्दै प्रतियोगितामा प्रभावशाली सुरुआत गरेको छ। नर्वेका स्टार फरवार्ड एर्लिङ हाल्यान्ड ले दुई गोल गर्दै टोलीको जितमा निर्णायक भूमिका खेले। २८ वर्षपछि विश्वकपमा फर्किएको नर्वेका लागि हाल्यान्डले २९औँ मिनेटमा गोल गर्दै खाता खोलेका थिए। त्यसपछि इराकका आयमेन हुसेन ले बराबरी गोल फर्काएर खेललाई रोमाञ्चक बनाएका थिए। तर पहिलो हाफ सकिनुअघि नै हाल्यान्डले व्यक्तिगत दोस्रो गोल गर्दै नर्वेलाई पुनः अग्रता दिलाए।

दोस्रो हाफमा नर्वेले खेलमाथि थप नियन्त्रण जमायो। ७६औँ मिनेटमा लियो ओस्टिगार्ड ले गोल गर्दै अग्रता फराकिलो बनाए भने इन्जुरी समयमा इराककै आयमेन हुसेनबाट आत्मघाती गोल भएपछि नर्वे ४–१ ले विजयी भयो। विश्व फुटबलका चर्चित गोलकर्ता हाल्यान्डका लागि यो पहिलो विश्वकप खेल थियो। उनले आफ्नो डेब्यु खेलमै दुई गोल गर्दै विश्वकप यात्राको उत्कृष्ट सुरुआत गरेका छन्।

४० वर्षपछि विश्वकपमा फर्किएको इराकले केही समय प्रतिस्पर्धात्मक खेल देखाए पनि रक्षापङ्क्तिका कमजोरी र व्यक्तिगत त्रुटिका कारण पराजय भोग्नुपरेको इराकका प्रशिक्षक ग्राहम अर्नोल्ड ले बताएका छन्। उनले हारका बाबजुद टोलीले सिक्ने अवसर पाएको प्रतिक्रिया दिएका छन्। यो जितसँगै नर्वेले समूह ‘आई’ मा महत्वपूर्ण तीन अंक जोडेको छ। अब नर्वेले अर्को खेलमा सेनेगलको सामना गर्नेछ भने इराकले फ्रान्सविरुद्ध कठिन चुनौती सामना गर्नेछ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्