काठमाडौँ – मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा प्रभावकारी रूपमा वितरण गर्न सुन्दरीजल क्षेत्रमा १८०० मिलिमिटर व्यासको पाइप बिछ्याउने कार्य सुरु गरिएको छ। आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) का अनुसार यो खानेपानी वितरणका लागि नेपालमा हालसम्म प्रयोग गरिएको सबैभन्दा ठूलो व्यासको पाइप हो। उक्त पाइपमार्फत मेलम्चीको पानीलाई उपत्यकाका विभिन्न क्षेत्रमा सहज र व्यवस्थित रूपमा पुर्याउने लक्ष्य राखिएको छ।
निर्देशनालयका प्रमुख एवं इन्जिनियर रामकुमार श्रेष्ठका अनुसार भक्तपुर, कीर्तिपुर, मध्यपुरथिमि, कपन, जोरपाटी तथा पेप्सीकोला क्षेत्रमा खानेपानी वितरण सञ्जाल विस्तारका लागि निर्माण प्रक्रिया अघि बढाइएको छ। ती क्षेत्रका लागि बोलपत्र आह्वान भइसकेको र चाँडै थप निर्माण प्रक्रिया सुरु हुने उहाँले जानकारी दिनुभयो।
उहाँका अनुसार मेलम्चीको पानीलाई उपत्यकावासीसम्म प्रभावकारी रूपमा पुर्याउन दिन र रात दुवै समयमा निर्माण कार्य भइरहेको छ। हाल विभिन्न स्थानमा रिजर्भ ट्याङ्की निर्माण, पाइपलाइन विस्तार तथा आवश्यक पूर्वाधार निर्माणका काम तीव्र गतिमा अगाडि बढिरहेका छन्।
निर्देशनालयले बिछ्याइएका पाइप तथा प्रणालीको परीक्षण सम्पन्न भएपछि सम्पूर्ण संरचना काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) लाई हस्तान्तरण गरिने जनाएको छ।
प्रमुख इन्जिनियर श्रेष्ठले प्रणाली हस्तान्तरणपछि काठमाडौँ उपत्यकाका नागरिकले नियमित रूपमा मेलम्चीको खानेपानी प्राप्त गर्ने अपेक्षा गरिएको बताउनुभयो। आयोजनाको पूर्ण कार्यान्वयनसँगै उपत्यकामा देखिँदै आएको खानेपानी अभावको समस्या न्यूनीकरण हुने विश्वास गरिएको छ।





