फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘आई’ को खेलमा फ्रान्सले सेनेगललाई ३-१ गोलले पराजित गरेको छ। फ्रान्सका कप्तान किलियन एमबाप्पे को उत्कृष्ट प्रदर्शनसँगै टोलीले महत्वपूर्ण जित दर्ता गरेको हो। खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा फ्रान्सले आक्रामक खेल प्रस्तुत गर्यो। ६६औँ मिनेटमा किलियन एमबाप्पेले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए। त्यसपछि ८२औँ मिनेटमा ब्राड्ली बारकोला ले गोल थप्दै फ्रान्सलाई २-० को बलियो अवस्थामा पुर्याए।
खेलको इन्जुरी समयमा सेनेगलका इब्राहिमा एम्बाये ले गोल गर्दै अन्तर घटाए। उनी विश्वकप इतिहासमा गोल गर्ने सबैभन्दा कान्छा अफ्रिकी खेलाडीसमेत बनेका छन्। तर खेलको अन्तिम समयमा एमबाप्पेले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै फ्रान्सको ३–१ को जित सुनिश्चित गरे।
यो गोलसँगै किलियन एमबाप्पेले फ्रान्सका लागि ५८ अन्तर्राष्ट्रिय गोल पूरा गर्दै पूर्व कीर्तिमानधारी ओलिभिए जिरु लाई पछि पार्दै फ्रान्सका सर्वाधिक गोलकर्ता खेलाडी बनेका छन्। फ्रान्सका प्रशिक्षक डिडिएर डेसाँ ले एमबाप्पेको प्रशंसा गर्दै उनलाई विश्वकै उत्कृष्ट खेलाडीमध्ये एक भएको बताएका छन्। अब समूह ‘आई’ अन्तर्गत फ्रान्सले आगामी खेलमा इराकसँग प्रतिस्पर्धा गर्नेछ भने सेनेगलले नर्वेको सामना गर्नेछ।





