काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक सञ्जिव गौतमलाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।
मंगलबार विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले गौतमलाई कारागार चलान गर्ने आदेश दिएको हो।
गौतम पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार प्रकरणमा प्रतिवादी बनाइएका थिए। उक्त प्रकरणमा तत्कालीन निर्देशक प्रदीप अधिकारीसहित गौतमविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
अख्तियारले गौतमबाट ६ करोड ७३ लाख ९९ हजार ६४८ रुपैयाँ ५९ पैसा असुलउपर गरी कानुनबमोजिम सजाय गर्न मागदाबी गरेको छ।
विशेष अदालतले मुद्दाको अन्तिम टुंगो नलाग्दासम्म गौतमलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो। यसअघि यही प्रकरणमा तत्कालीन निर्देशक प्रदीप अधिकारीलाई पनि कारागार चलान गरिएको थियो।
मुद्दाको थप सुनुवाइ र अन्तिम फैसला विशेष अदालतबाट हुने छ।





