काठमाडौँ – नेपाल एशियाली खेलकुद क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। सिंगापुरमा आज भएको पहिलो सेमिफाइनलमा ओमानलाई ८ विकेटले पराजित गर्दै नेपाल उपाधिनजिक पुगेको हो। सिंगापुरस्थित नेशनल क्रिकेट मैदानमा ओमानले दिएको ९५ रनको सामान्य लक्ष्य नेपालले ९ ओभर २ बलमा मात्र २ विकेट गुमाएर पूरा गर्यो। नेपालको जितमा लोकेश बमले उत्कृष्ट प्रदर्शन गर्दै अविजित ४४ रन बनाए। कप्तान रोहित पौडेल २१ रनमा अविजित रहे भने कुशल भुर्तेलले २० रनको योगदान दिए। नेपालका दुवै विकेट ओमानका समीर ओटमनले लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमान नेपाली बलरहरूको कसिलो प्रदर्शनसामु टिक्न नसकी १९.४ ओभरमा ९४ रनमा अलआउट भएको थियो। ओमानका कप्तान सफ्यान मेहमुदले सर्वाधिक ३८ रन बनाए भने जुबैर अल बलुशीले २२ र अब्दुल जाइलले १६ रन जोडे। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
नेपालका लागि करण केसी सर्वाधिक सफल बलर बने। उनले ३ विकेट लिए। सोमपाल कामी र सन्दीप लामिछानेले समान २-२ विकेट हात पारे भने शाहब आलम, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले १-१ विकेट लिए। बलिङ र ब्याटिङ दुवै विभागमा उत्कृष्ट प्रदर्शन गरेको नेपाल अब उपाधिबाट एक कदम मात्र टाढा रहेको छ। फाइनलमा नेपालले हङकङ र मलेसियाबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।






