परराष्ट्रमन्त्री शिशिर खनाल आज भारत प्रस्थान गर्दै

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल भारतीय विदेशमन्त्री डा. एस. जयशंकरको सौहार्दपूर्ण निमन्त्रणामा आज तीनदिने औपचारिक भारत भ्रमणका लागि प्रस्थान गर्ने भएका छन्। नेपाल र भारतबीच नियमित रूपमा हुँदै आएको उच्चस्तरीय भ्रमण आदानप्रदानको क्रमअन्तर्गत हुन लागेको यस भ्रमणले दुई देशबीचको ऐतिहासिक, घनिष्ठ तथा बहुआयामिक द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको भ्रमण तालिकाअनुसार मन्त्री खनालले भारतको राजधानी नयाँ दिल्लीमा आफ्ना भारतीय समकक्षी डा. एस. जयशंकरसँग औपचारिक द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। भेटवार्ताका क्रममा नेपाल–भारत सम्बन्धका विविध आयामबारे विस्तृत छलफल हुने जनाइएको छ। विशेषगरी व्यापार, लगानी, ऊर्जा, कनेक्टिभिटी, पूर्वाधार विकास तथा दुई देशका जनताबीचको सम्बन्धलाई अझ सुदृढ र विस्तार गर्ने विषयमा केन्द्रित रहेर छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार नेपाल र भारतबीचको सहयोग, साझेदारी तथा आपसी समझदारीलाई नयाँ उचाइमा पुर्‍याउन भ्रमण महत्वपूर्ण अवसर बन्ने विश्वास गरिएको छ। परराष्ट्रमन्त्री खनाल औपचारिक भ्रमणका सम्पूर्ण कार्यक्रम सम्पन्न गरी आगामी जेठ २४ गते काठमाडौं फर्कने कार्यतालिका रहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्