क्रियाशील सदस्यता डिजिटल अद्यावधिक गर्न कांग्रेसले फेरि थप्यो समय

काठमाडौं – नेपाली कांग्रेसले पार्टीका क्रियाशील सदस्यहरूको डिजिटल अद्यावधिक (डिजिटली अपडेट) गर्ने म्याद पुनः थप गरेको छ। क्रियाशील सदस्यता व्यवस्थापन समितिले अब जेठ २८ गते रातिसम्म सदस्यता अद्यावधिक गर्न सकिने जनाएको छ। यसअघि समितिले समय थप गर्दै जेठ २१ गतेसम्मको म्याद दिएको थियो। महामन्त्री प्रदीप पौडेल नेतृत्वको समितिले थप समय नदिने संकेत गरे पनि अन्तिम समयमा आएर पुनः म्याद बढाइएको हो।

वैशाख ३१ गते बसेको समितिको बैठकले क्रियाशील सदस्यता वितरण, छुट नवीकरण तथा अद्यावधिकसम्बन्धी सम्पूर्ण काम जेठ २१ गतेभित्र अनिवार्य रूपमा सम्पन्न गर्नुपर्ने निर्णय गरेको थियो। १५औँ महाधिवेशनका लागि नवीकरण गरिएका क्रियाशील सदस्यहरूले अनिवार्य रूपमा डिजिटल अद्यावधिक गर्नुपर्ने व्यवस्था समितिले गरेको छ। तर निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला समूहले नवीकरण भइसकेका सदस्यहरूले पुनः अद्यावधिक गर्न नपर्ने अडान कायम राखेका छन्।

पार्टी स्रोतका अनुसार १४औँ महाधिवेशनका बेला रहेका ८ लाख ७० हजारभन्दा बढी क्रियाशील सदस्यमध्ये हालसम्म करिब आधाले मात्रै डिजिटल अद्यावधिक प्रक्रिया पूरा गरेका छन्। गत पुस अन्तिम साता सम्पन्न विशेष महाधिवेशनपछि कांग्रेसभित्र संगठनात्मक विवाद जारी छ। उक्त महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको थियो। सोही कार्यसमितिअन्तर्गत गठित क्रियाशील सदस्यता व्यवस्थापन समितिले सबै नवीकरण गरिएका सदस्यलाई पनि डिजिटल अद्यावधिक अनिवार्य गरेको छ।

विशेष महाधिवेशनअघि कांग्रेसले १५औँ महाधिवेशनको तयारीस्वरूप करिब ४ लाख ५० हजार क्रियाशील सदस्यको नवीकरण गरिसकेको थियो। तर तीमध्ये पनि उल्लेख्य संख्यामा सदस्यहरूले हालसम्म अद्यावधिक प्रक्रिया पूरा नगरेको समितिले जनाएको छ। पार्टीका सहमहामन्त्री तथा समितिका सदस्य प्रकाश स्नेही रसाइलीका अनुसार केही सदस्यले प्रविधि प्रयोग गर्न नसक्दा र केहीले प्राविधिक समस्याका कारण समयमै अद्यावधिक गर्न नसकेको अवस्था छ। उहाँले भन्नुभयो, “केहीले प्रविधि नबुझेर र केहीको प्राविधिक समस्या समाधान गर्न समय लागेकाले अद्यावधिक संख्या अपेक्षाभन्दा कम देखिएको हो। अद्यावधिक गर्ने क्रम अझै जारी छ।” कांग्रेसले थपिएको समयभित्र सबै सदस्यलाई प्रक्रिया पूरा गर्न आग्रह गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्